काठमाडौं । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय एडिबीका आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको बताए ।
“निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौँ”, उनले भने, “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी एक वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ ।” आयोजना निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको छ ।
नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार अहिले निर्माण कम्पनीले दाउन्ने खण्डमा काम गरिरहेको छ । दाउन्नेमा सडकका कारण यात्रीलाई समस्या परेकाले त्यहाँ ढलान गर्न जनशक्ति केन्द्रित भएका छन् । दाउन्नेमा सडक ढलानसहित चोरमारामा कालोपत्र, पुल निर्माण, दुई लेन सडक भएको ठाउँमा चार लेन बनाउने, डिभाइडर बनाउने काम भइरहेको छ । सडक विस्तारका लागि अहिले दुई सय ७२ जना श्रमिक काम गरिरहेका छन् ।
यस खण्डमा पर्ने साना पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालनमा रहेको भए पनि ठूला पुल बन्ने क्रम जारी रहेको सूचना अधिकारी खनालको भनाइ छ ।
दुई खण्डमा विभाजन गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार योजनाको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड ६५ किलोमिटरको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार एवं पश्चिम खण्ड ४९ किलोमिटरको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ । एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा अघि बढाइएको आयोजनामा बाँकी रकम सरकारको छ ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया