काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच मंगलबार भेटवार्ता भएको छ।

नयाँ बानेश्वरस्थित निधि निवासमा भएको भेटमा इजरायलमा हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ, नेपाल–इजरायल द्विपक्षीय सम्बन्ध, ‘अर्न एन्ड लर्न’ कार्यक्रम लगायतका विषयमा छलफल भएको निधिको सचिवालयले जनाएको छ।

advertisement

भेटका क्रममा नेता निधिले जोशीको सकुशल रिहाइलाई पहिलो प्राथमिकता दिएर पहल गर्न राजदूत बासको ध्यानाकर्षण गराएका थिए। जवाफमा राजदूत बासले विपीन जोशी हाल सुरक्षित छन् वा छैनन् भन्नेबारे इजरायली पक्षसँग कुनै जानकारी नभएको बताएका थिए।

राजदूत बासले संयुक्त राष्ट्रसंघमा इजरायलसम्बन्धी १८ प्रस्तावहरूमा नेपालले समर्थन जनाउन वा मतदान गर्न नसक्ने अवस्था भए अनुपस्थित रहन आग्रह गरेका थिए।

नेता निधिले नेपालले इजरायललाई स्थापना कालदेखि नै कूटनीतिक मान्यता दिँदै आएको स्मरण गराउँदै नेपालले प्यालेस्टिनी पक्षलाई पनि मान्यता दिएको स्पष्ट पारे।

इजरायलको ‘अर्न एन्ड लर्न’ कार्यक्रमबाट नेपाली विद्यार्थीहरू लाभान्वित भए पनि हाल त्यो रोकिएको उल्लेख गर्दै नेता निधिले कार्यक्रम पुनः सञ्चालनका लागि नेपाल सकारात्मक रहेको जानकारी गराए।

भेटमा मधेस प्रदेशमा कृषि क्षेत्रमा इजरायलीसँग कृषिमा लगानीको सम्भावनाबारे पनि सकारात्मक छलफल भएको निधिको सचिवालयले जनाएको छ।

नेता निधिले सन् १९६० मा स्थापना भएको नेपाल–इजरायल कूटनीतिक सम्बन्ध सधैं सहकार्य र मैत्रीपूर्ण आधारमा अगाडि बढिरहेको उल्लेख गर्दै कृषि, श्रम र सुरक्षा क्षेत्रमा इजरायलले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com