काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विचारको क्षेत्रमा एकाधिकार (सिन्डिकेट) स्थापना गर्न खोजिएको भन्दै गम्भीर प्रश्न उठाएका छन्।

४३औं बीपी स्मृति दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले बीपी कोइरालाको विचारलाई एकल स्वामित्वमा राख्ने प्रवृत्तिप्रति आलोचनात्मक टिप्पणी गरेका हुन्।

advertisement

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै भण्डारीले लेखेका छन्, “विपी विचारका अनुयायी हामी! उहाँप्रति हार्दिक श्रद्धाञ्जली! विश्व अहिले कृत्रिम बुद्धिमत्ताबाट भावनात्मक बुद्धिमत्ता  तर्फ जाँदैछ, तर हामी भने अझै ओठे र कोठे (कुहिएको) राजनीति कै बन्दी छौँ।”

उनले थप भनेका छन्, “विचारको उत्पादन, वितरण र उपभोगमा पनि सिन्डिकेट? साथीहरू, नबिर्सौँ, हामी सुविचारका सहयात्री हौँ, तर फड्केको साक्षी हैनौँ!”

भण्डारीको यो अभिव्यक्ति विचारको स्वतन्त्रता, बहसको खुलापन र लोकतान्त्रिक मूल्यको पक्षमा रहेको प्रष्ट हुन्छ।

यसैबीच, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता बीपी कोइरालाको ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइएको छ।

विसं २०३९ साल साउन ६ गते निधन भएका कोइरालाले प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका थिए। विसं १९७१ साल भदौ २४ गते जन्मिएका उनी विसं २०१५ को आम निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। राजनीतिसँगै नेपाली साहित्यमा पनि कोइरालाको योगदान अमूल्य रहेको छ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com