काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न मंगलबार बूढानीलकण्ठस्थित निवास पुगेका छन्।
यसअघि सोमबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको छलफलमा सहभागी नेताहरूले प्राप्त निष्कर्ष सभापति देउवालाई जानकारी गराउने निर्णय गरेका थिए। सोही निर्णयअनुसार मंगलबार सिंहसहित नेताहरू देउवा निवास पुगेका हुन्।
पूर्वपदाधिकारीहरूको निष्कर्षअनुसार, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते भएको सातबुँदे सहमति कार्यान्वयन गर्दै गठबन्धनको भावना अनुसार सरकारको कामकारबाही अघि बढ्नुपर्ने तथा संविधान संशोधनका विषयहरूलाई प्राथमिकताका साथ अघि सारिनुपर्ने आवश्यक छ।
देउवासँग भएको भेटवार्तामा उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, नेता विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता प्रकाशशरण महत सहभागी थिए।
त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधि इजरायली राजदूतसँगको भेटवार्ता सकिएपछि देउवा निवास पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
पूर्वपदाधिकारीहरूको यो सक्रियता कांग्रेसभित्र सहमतिअनुसार सरकारको कार्यशैली परिमार्जन गर्न र पार्टीको भूमिका सशक्त बनाउन गरिएको पहलको रूपमा हेरिएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया