काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले वर्तमान राजनीतिक प्रवृत्तिले जनतामा गहिरो असन्तुष्टि र निराशा उत्पन्न गरिरहेको बताएका छन्।

मंगलबार राजधानीमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले सत्ता र सत्ताको स्रोतको दुरुपयोग गर्दै गठबन्धनको नाममा जनअपेक्षा विपरीतको अभ्यास गर्दै आएको आरोप लगाए।

advertisement

‘जस्तो सुकै स्वरूपको गठबन्धन बनाएर राज्यको दोहन गर्ने प्रवृत्ति मौलाउँदै गएको छ,’ उनले भने, ‘यस्ता अभ्यासहरूले जनतामा भयावह असन्तुष्टि सिर्जना गरिरहेको छ, र यही असन्तुष्टिको फाइदा पपुलिस्टहरू लिइरहेका छन्।’

कार्यक्रममा महासचिव भुसालले कम्युनिष्ट नेताहरूमा देखिएको पद मोह र नेतृत्वबाट नहट्ने प्रवृत्तिप्रति पनि तीव्र असन्तुष्टि जनाए।

‘नेतृत्वमा बसेका केही मानिस भन्छन्— अब २० वर्ष मेरो कुर्सीतिर नहेर्नू। अर्कोतिर कसैले भन्छ— म १०/१५ वर्षभित्र नयाँ पुस्ता तयार पारेर नेतृत्व छाड्छु,’ उनले उदाहरण दिँदै भने, ‘यता अर्का नेताको त आरती उतार्दैछन कि उहाँ जीवनभर नेतृत्वमै रहनुपर्छ। यस्तो विरोधाभासपूर्ण अवस्था हाम्रो आन्दोलनमा छ।’

उनले अहिलेको कम्युनिष्ट आन्दोलन तार्किक, वस्तुनिष्ठ र वैचारिक बन्नुपर्नेमा व्यक्तिगत मोह, चाकरी संस्कृति र सत्ताको लिप्साले त्यसलाई ध्वस्त पार्दै लगेको टिप्पणी गरे।

‘कम्युनिष्ट आन्दोलन भन्नुको अर्थ हो– गम्भीर वैचारिक र व्यवहारिक अनुशासनमा आधारित परिवर्तनको अभियान। तर आज हामी त्यसबाट सर्वथा विमुख भइरहेका छौं,’ उनले दुखेसो व्यक्त गरे।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com