काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै तहका कार्यालयहरूलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ निषेध क्षेत्र घोषणा गरेका छन्।
पार्टीका संस्थापक नेता बीपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा देउवाले उक्त निर्णयको घोषणा गर्दै स्वास्थ्यका दृष्टिकोणले हानिकारक बानीहरू परित्याग गर्नुपर्नेमा जोड दिए।
“बीपी कोइरालाको निधन घाँटीको क्यान्सरका कारण भएको थियो, जुन प्रायः सूर्तिजन्य वस्तु, मादक पदार्थ र लागूपदार्थको प्रयोगबाट हुने गर्छ,” देउवाले स्मरण गर्दै भने, “त्यसैले पार्टीभित्र यस्ता पदार्थको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरिएको हो।”
कार्यक्रमको आयोजना कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले गरेको थियो। कार्यक्रममा देउवाले जलवायु परिवर्तन र वातावरणीय संरक्षणप्रति पार्टी गम्भीर रहेको उल्लेख गर्दै सामाजिक रूपमै परिवर्तन ल्याउन हानिकारक पदार्थहरूबाट टाढा रहनुपर्ने धारणा व्यक्त गरे।
“सामाजिक सचेतना फैलाउने काममा हामी अग्रसर हुनुपर्छ,” उनले भने, “स्वस्थ जीवनशैली अपनाउँदै समाजलाई सकारात्मक दिशातर्फ लैजान यो कदम महत्वपूर्ण हुनेछ।”
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया