काठमाडौं । गत असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको निर्माण सुरु भएको छ । रसुवागढीस्थित ल्हेन्देखोलामा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको सडक विभागले जनाएको छ ।

विभागका प्रवक्ता प्रभातकुमार झाले नेपाल–चीन सीमास्थित मैत्री पुल रहेको ठाउँमा बेलिब्रिज तथा बाढीपहिरोबाट बगेका सडकलगायतका संरचनाको निर्माण कार्य सुरु भइसकेको जानकारी दिए । उनका अनुसार चीन सरकारले सो निर्माण सुरु गरेको हो ।

advertisement

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका ठप्प भएको थियो । बाढीपहिरोले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म विभिन्न स्थानमा गरेर करिब एक किलोमिटर सडक बगाएको थियो, जस कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको आवतजावत ठप्प भएको थियो । त्यसै गरी सोही दिनको बाढीपहिरोले रसुवागढीबाट केरुङतर्फ जाने २५ किलोमिटर सडकमा समेत क्षति पु¥याएको थियो ।

यसअघि सरकारले रसुवागढीमा बाढीपहिरोले बगेका पुललगायतका संरचना निर्माण गरी यथाशक्य सो नाका सञ्चालनका लागि चीनलाई आग्रह गरेको थियो । साउन १ गते सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भएको भेटमा मन्त्री दाहालले राजदूत चेनसँग सो आग्रह गरेका थिए । यसैबीच चिनियाँ पक्षले दसैँअघि नै मितेरी पुल भएको ठाउँमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com