चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दीको अन्त्य गर्न निर्वाचन प्रणाली नै फेरिनु आवश्यक भएको बताएका छन्। उनले अहिलेको विधान गुट निर्माणमै आधारित रहेको उल्लेख गर्दै त्यसलाई तत्काल संशोधन गर्नुपर्ने धारणा राखे।

बिपी कोइराला स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस चितवनद्वारा भरतपुरमा आयोजित विचार गोष्ठीमा महामन्त्री थापाले भने, “पार्टीको हालको संरचना गुट निर्माण गर्ने खालको छ। यसलाई परिवर्तन नगरेसम्म गुटबन्दी हट्दैन। त्यसैले क्रियाशील सदस्यले प्रत्यक्ष रुपमा सभापति छान्ने व्यवस्था गरौं।”

advertisement

उनका अनुसार विधान संशोधन गरेर झण्डै १० लाख पार्टी सदस्यले सभापति चयन गर्ने प्रक्रिया सुरु गरेमा गुटहरू स्वतः समाप्त हुनेछन्। “त्यस्तो विधि अपनाउँदा सभापति बन्न चाहने व्यक्तिले देशभरिका कार्यकर्ताको मन जित्नुपर्ने हुन्छ, जसले गुटभन्दा माथि उठेर काम गर्ने वातावरण बनाउँछ,” उनले स्पष्ट पारे।

थापाले अहिलेको ‘पिरामिड शैली’को निर्वाचन प्रणालीले केही सीमित व्यक्तिको मात्रै मन जित्नुपर्ने बाध्यता रहेकाले गुटबन्दी झन बलियो भएको आरोप लगाए।

“एकातिर सत्ताको मोह छ, अर्कातिर अधिवेशनका नाममा कार्यकर्तालाई भागबन्डामा अल्झाउने काम भइरहेको छ,” थापाले भने, “वडास्तरदेखि नै क्रियाशील सदस्यहरूले प्रत्यक्ष भोट हालेर नेतृत्व चयन गर्ने विधान लागू गरिए मात्र पार्टीभित्रको विकृति अन्त्य गर्न सकिन्छ।”

महामन्त्री थापाले पार्टीमा सुधार ल्याउने यही उपयुक्त समय भएको भन्दै सभापति शेरबहादुर देउवाको यो अन्तिम कार्यकाल भएकाले अब बहस गरेर होइन, कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बेला आएको बताए। “म विधान संशोधनको पक्षमा दृढताका साथ उभिएको छु, त्यो चुनौती म स्वीकार्छु,” उनले भने।

थापाले आगामी निर्वाचनमा कांग्रेसका कार्यकर्ताले अब ‘रुख’ चिन्हबाहेक अन्य पार्टीको पक्षमा भोट हाल्नुपर्ने अवस्था नआउने विश्वाससमेत व्यक्त गरे। “अघिल्ला चुनावहरूमा चितवनलगायतका जिल्लामा कांग्रेसले ठूलो मूल्य चुकाउनु परेको छ,” उनले भने, “अब महासमितिले निर्णय गरिसकेको छ— आगामी चुनावमा हाम्रा कार्यकर्ताले केवल रुख चिन्हमै भोट हाल्नेछन्। म सभापति बनौं या नबनौं, यो नीतिमा परिवर्तन हुँदैन।”

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com