काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच नेतामाथि गरिएको पार्टी कारबाहीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगले पार्टीलाई स्पष्टिकरण माग्दै पत्राचार गरेको छ।
आयोगकी प्रवक्ता सीता पोखरेलका अनुसार उजुरीपछि प्रारम्भिक छानबिनका लागि राप्रपालाई पत्राचार गरिएको हो। “पाँच जनाको लिखित उजुरी आयोगमा आएपछि सोधपुछका लागि पत्राचार गरिएको हो,” पोखरेलले जानकारी दिइन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको आन्तरिक निर्णयअनुसार अनुशासन समिति अध्यक्ष नवराज सुवेदी, प्रवक्ता सगुनसुन्दर लावती, उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री डा. धवलशम्शेर राणा र सदस्य सचिव धनशुर शाहीलाई पदमुक्त गरेका थिए। ती नेताहरूले आफूमाथि पार्टी विधान विपरीत कारबाही भएको दाबी गर्दै निर्वाचन आयोगमा गुनासो दर्ता गराएका हुन्।
राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले आयोगबाट पत्र प्राप्त भएको पुष्टि गर्दै यसको विवरण अध्ययन भइरहेको बताए। “पत्र आएको हो, तर पूर्णरूपमा अध्ययन गर्न बाँकी छ,” उनले भने।
आयोगले प्राप्त उजुरी र राप्रपाको जवाफको अध्ययनपछि आवश्यक निर्णय लिने तयारी गरेको जनाएको छ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया