काठमाडाैं । पूर्वसांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा निर्माण गरिएको आफ्नाे शालिक हटाउन माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत मंगलबार सार्वजनिक प्रतिक्रिया दिँदै उनले शालिक बनाउने परम्पराप्रति असहमति जनाउँदै सो शालिकलाई “कसैले नदेख्ने र कहिल्यै नभेट्ने गरी गाडिदिन” धरानको स्थानीय सरकारसँग अनुरोध गरेका छन्।
“मलाई मेरो शालिक बनाउने चाहना अहिले पनि छैन, पछि पनि हुने छैन,” किरातीले लेखेका छन्, “शालिक बनाउने र पूजा गर्ने संस्कृतिको म सिद्धान्ततः विरोधी हुँ। मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदान पनि गरेको छैन।”
सामाजिक सञ्जालमा विचार राख्ने शैलीप्रति पनि टिप्पणी गर्दै उनले सभ्य र स्तरीय टिप्पणीको आग्रह गरेका छन्। “कुनै विषयमाथि प्रतिक्रिया हेर्दा महसुस हुन्छ, शब्दहरूले आफैँ आत्महत्या गरिरहेका छन्,” उनले लेखेका छन्, “विचार व्यक्त गर्दा भाषा संयमित बनाए स्वास्थ्यकर वातावरण तयार हुन्छ।”
शालिक निर्माणप्रति व्यक्तिगत असहमति जनाउँदै उनले सार्वजनिक सम्पत्तिमा त्यसको औचित्य नरहेको बताएका छन्। किराती भाेजपुरका प्रतिनिधिसभा सदस्य समेत हुन्।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार












प्रतिक्रिया