रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-५ सेराबाङमा जङ्गली च्याउ खाएर एउटै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार च्याउ खाएर गम्भीर बिरामी परेका ३ वर्षीय योजन विकको मंगलबार दिउँसो सल्यान अस्पतालमा र ७ वर्षीया भाग्यरेखा विकको सोही दिन राति दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
शुक्रबार साँझ जंगलबाट ल्याएर पकाइएको च्याउ खाएपछि परिवारका सदस्यहरूमा ज्वरो, वान्ता, टाउको दुख्ने लगायतका लक्षण देखिएको थियो। अवस्था जटिल बन्दै गएपछि आइतबार रातिदेखि बिरामी परेका चारै जनालाई सोमबार रुकुमपूर्व अस्पताल लगिएको थियो।
प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवका अनुसार गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई दाङ र आमाअवस्था मध्यम भएकी ३५ वर्षीया राजकुमारी विकलाई रुकुमपश्चिमको अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीका अनुसार विषालु च्याउ खाएका कारण बिरामी परेका हुन् भन्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार












प्रतिक्रिया