काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसामान्य प्रशासनमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन थालेको छ। बुधबार बिहान १० बजेदेखि आयोगले उनलाई बयानका लागि तान्दै सोधपुछ सुरु गरेको अख्तियार स्रोतले जनाएको छ।

कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा र थमौतीसँग जोडिएको एक चर्चित घुस प्रकरणको अडियो सार्वजनिक भएपछि अनुसन्धानको घेरो फराकिलो बनाउँदै आयोगले पूर्वमन्त्री श्रेष्ठलाई पनि अनुसन्धानको दायरामा ल्याएको हो।

advertisement

यसअघि सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताको संलग्नतासहितको घुस अडियो सार्वजनिक भएपछि त्यसको स्रोत पत्ता लगाउन गरिएको फोन ट्रयाकिङको क्रममा आयोगले केही शंकास्पद फोन कल र म्यासेजहरू पत्ता लगाएको थियो।

त्यही अनुसन्धानको सिलसिलामा पूर्वमन्त्री श्रेष्ठले पनि सम्बन्धित व्यक्तिसँग रकम मागेको देखिएको अख्तियार स्रोतको दाबी छ। “केवल उनी मात्र होइनन्, मन्त्री श्रेष्ठका निजी सुरक्षा अधिकृत (पीएसओ) को मोबाइलमा पनि आर्थिक लेनदेनसँग सम्बन्धित शंकास्पद म्यासेजहरू फेला परेपछि उनीहरूलाई बयानका लागि बोलाइएको हो,” स्रोतले भन्यो।

अख्तियारले अहिले यस प्रकरणमा गहिरो छानबिन गरिरहेको छ, र संलग्न देखिएका सबै पक्षलाई बयानका लागि क्रमशः बोलाउने तयारी गरेको छ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com