काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले लामो मौनता पछाडि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन्। पार्टीभित्र देखिएको विवाद र पदमुक्तिका घटनाहरूपछि मिश्रले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समिति अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई पदमुक्त गरेपछि राप्रपाभित्र आन्तरिक असहमति चुलिँदै गएको छ। यिनै घटनाक्रमका बीच मिश्रले हालसम्म सार्वजनिकरूपमा कुनै टिप्पणी गरेका थिएनन्।

advertisement

तीनकुने घटनापछि चैत १५ गते पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशमा ४९ दिनपछि हाजिरी जमानीमा रिहा भए पनि त्यसयता उनी राजनीतिक गतिविधिमा खासै देखिएका थिएनन्। पार्टीका केही बैठकहरूमा उपस्थित भए पनि उनी सार्वजनिक कार्यक्रममा बोलेका थिएनन्।

यद्यपि बुधबार उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै पार्टीभित्रको संकटप्रति संकेत गरे। मिश्रले लेखे, “देशका प्रमुख नेताहरूले धेरै विवाद वा संकट भयो भने सार्वजनिक रूपमा बोल्नुपर्छ। तर पार्टीभित्र विवाद हुँदा भने, सबैले एकैचोटि धेरै बोल्नु उपयुक्त हुँदैन।”

आफू पार्टीको वरिष्ठ नेता भए पनि अहिले अत्यावश्यक नभएसम्म मौन रहने निर्णय गरेको उनले प्रस्ट पारे। “म देशको प्रमुख नेता होइन, तर पार्टीभित्रको एक प्रमुख नेता हुँ। त्यसैले आवश्यक नपरेसम्म बोल्दिनँ। सबैको बोलाइ एउटै समयमा हुनुपर्दैन,” उनले लेखे।

मिश्रले थप लेखेका छन्, “म नबोलेको भन्दै कसैले डराएको ठानेमा त्यसको मूल्य महँगो पर्न सक्छ।”

करिब तीन वर्षअघि विवेकशील साझा पार्टी परित्याग गरी मिश्रसहित ४० जना राप्रपामा प्रवेश गरेका थिए। तर निर्वाचन आयोगमा उनीहरूको नाम अझै अद्यावधिक गरिएको छैन। यसले पनि उनीहरूको औपचारिक भूमिकामा प्रश्न खडा गरेको छ।

पार्टीभित्रको बढ्दो असन्तोषका बीच मिश्रको यो अभिव्यक्तिलाई सन्तुलित तर कूटनीतिक प्रतिक्रिया भन्दै विश्लेषण गर्न थालिएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com