काठमाडाैं । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत टुनीगडामा भएको जीप दुर्घटनामा घाइते भएकी एक महिलाको थप मृत्यु भएपछि घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएकी ३५ वर्षीया जुनेली रोकायाको उद्धारको क्रममा निधन भएको हो। उनी सोही गाउँपालिकाकी स्थानीय हुन्।

advertisement

क्युडीबाट कवाडी जाँदै गरेको यात्रुबाहक जीप टुनीगडामा दुर्घटनामा परेको हो। जीपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको र सडक कच्ची तथा जोखिमयुक्त भएकाले सन्तुलन गुमाएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

घटनास्थलमै ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको मृत्यु भएको थियो। जीपमा १९ जना सवारमध्ये १३ जना गम्भीर घाइते छन् भने तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको प्राथमिक उपचारका लागि गाउँपालिकाका स्वास्थ्यकर्मी खटाइएको छ। गम्भीर अवस्थाका बिरामीलाई तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकप्टरको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध भइसकेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए।

घाइतेहरूको उपचार हाल टुनीगडामा गरिएको छ भने थप उपचारका लागि छिट्टै हवाई उद्धारको तयारी भइरहेको छ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com