बाँके । बाँके जिल्लाका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सहित सरोकारवालाहरूले नेपालगञ्ज–दिल्ली सीधा हवाई उडानलाई प्राथमिकता दिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका छन्।
आगामी भदौको अन्तिम साता हुने प्रधानमन्त्रीको भारत भ्रमणलाई लक्षित गर्दै नेपालगञ्ज–दिल्ली उडानलाई प्रमुख एजेन्डा बनाउन सर्वपक्षीय छलफलमा सहमति जुटेको हो। उद्योगी, व्यवसायी, नागरिक समाज र राजनीतिक दलको उपस्थितिमा सम्पन्न भेलाले प्रधानमन्त्रीसमक्ष यो विषयलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने निर्णय गरेको छ।
नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले यो विषयलाई निरन्तर उठाउँदै टुंगो लाग्दासम्म नछोड्ने प्रतिबद्धता जनाए। उनले भने, “अब बीचमा छाड्ने विषय होइन, यस क्षेत्रको समग्र विकासका लागि निरन्तर प्रयास आवश्यक छ।”
नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले विकासका सवालमा सबै दलहरू एकजुट हुनुपर्ने धारणा राख्दै नेपालगञ्जको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचय स्थापित गर्न सीधा उडान आवश्यक रहेको बताए।
नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाटले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई एजेन्डाका रूपमा प्रस्तुत गर्न दबाब दिन ‘नेपालगञ्ज–दिल्ली उडान दबाब समूह’ गठन गरिएको जानकारी दिए। उक्त समूहको संयोजकत्व संघका अध्यक्ष टङ्कबहादुर धामीले लिएका छन्।
दबाब समूहका सचिवसमेत रहेका महासचिव रानाभाटका अनुसार हालै बनेको कार्यदलले कार्ययोजना तयार गर्दै दबाब प्रभावकारी बनाउन आवश्यक कदम चाल्नेछ।
नेपालगञ्जलाई मानसरोवर प्रवेशद्वारका रूपमा विकास गर्न र सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका जनतालाई सहज पहुँच दिन सीधा उडान अपरिहार्य भएको धारणा सरोकारवालाहरूको रहेको छ।
यसै सन्दर्भमा, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नविन गिरीको संयोजकत्वमा एक अध्ययन समिति पनि गठन गरिएको छ। जसमा कांग्रेस नेता कोइराला, पूर्वअध्यक्ष झलक गैरे, पत्रकार शरण कर्माचार्य, शंकर खनाल, आशिष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य छन्।
समितिले १० दिनभित्र उडानको आवश्यकता, औचित्य र सम्भावनाबारे प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाउने छ। प्रधानमन्त्री ओली यही भदौ ३१ गते नयाँदिल्ली प्रस्थान गर्ने तय भएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया