काठमाडौ  ।  भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भए पनि दुवै दल बैठक सुरु हुनुअघि नै संसद् कक्षबाट बाहिरिएका थिए।

advertisement

गृहमन्त्री रमेश लेखक जोडिएको भनिएको भिजिट भिसा प्रकरणको छानबिनमा सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरे पनि रास्वपा र राप्रपाले उक्त समितिलाई विश्वास गर्न नसकिने भन्दै अस्वीकार गरेका छन्।

दुबै दलले छानबिनका लागि उच्चस्तरीय संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै आएका छन्। तर सरकार त्यसप्रति सकारात्मक नभएपछि उनीहरूले निरन्तर संसद् बहिष्कार गर्दै आएका हुन्।

गत जेठ १४ गतेबाट सुरु भएको बजेट अधिवेशनदेखि नै रास्वपा र राप्रपा संसद् अवरुद्ध गर्दै आएका छन्। सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) पनि यिनै दलहरूको पक्षमा उभिएको थियो। तर, जेठ ३० मा माओवादी केन्द्रले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग तीन बुँदे सहमति गरेपछि संसद् सञ्चालनमा सहकार्य गर्न थालिसकेको छ।

तर रास्वपा र राप्रपा भने अझै पनि आफ्ना माग पुरा नभएको भन्दै संसद् बैठकमा सहभागी हुन अस्वीकार गर्दै आएका छन्।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com