लमजुङ ।  लमजुङको बेंसीशहर नगरपालिका-७ स्थित खरखरे पहिरो क्षेत्रमा बिहीबार दिउँसो एक अटो करिब १०० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार बेंसीशहरबाट खुदीतर्फ जाँदै गरेको ग.प्र.०४-००१ ह ०२८५ नम्बरको अटो दिउँसो करिब १:३० बजे अनियन्त्रित भई मर्स्याङ्दी नदीमा खसेको हो। पहिरोको जोखिमयुक्त सडकखण्डमा दुर्घटना भएको हो।

advertisement

दुर्घटनापछि प्रहरी टोली स्थानीयवासी र यात्रुहरूको सहयोगमा घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई तत्काल प्रदेश अस्पताल, लमजुङ पठाइएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा ४५ वर्षीया स्यानु माया गुरुङ र ४५ वर्षीया सुस्मिता तामाङ रहेका छन्। उनीहरूको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। अन्य घाइतेहरूमा अन्जली गुरुङ (३५), धनकुमारी गुरुङ (४८), चालक टोपबहादुर लामा (३०) र शिला देवी गुरुङ (४०) छन्। उनीहरू मध्ये दुईको अवस्था मध्यम, दुईको सामान्य रहेको छ।

दुर्घटनामा परेकाे अटो मर्स्याङ्दी नदीमै डुबेकोले अझै फेला परेको छैन। अटोको खोजी कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। सवारीधनीलाई पनि खोजी भइरहेको जनाइएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com