काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले त्रिभुवन विश्वविद्यालय बारम्बार बन्द हुनुमा सरकारको उदासीनता र गैरजिम्मेवारीपनलाई दोष लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले सरकारले विश्वविद्यालयको समुचित व्यवस्थापन गर्न र शैक्षिक सुधारमा आवश्यक कदम चाल्न असफल भएको आरोप लगाए।
उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)जस्ता आधुनिक प्रविधिमा आधारित नयाँ पाठ्यक्रम निर्माणमा ढिलाइ भइरहेकाले शैक्षिक क्षेत्र अझै पछि पर्न सक्ने चिन्ता व्यक्त गरे।
“सरकार छ, मन्त्रालय छन्, विज्ञहरू पनि छन्, तर त्रिभुवन विश्वविद्यालय बारम्बार किन बन्द हुन्छ?” भण्डारीले प्रश्न गर्दै भने, “सरकारले सुधार गर्न किन सक्दैन? नयाँ कार्यक्रमहरू किन ल्याउन सकिँदैन?”
उनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरूको सुधार अपरिहार्य रहेको उल्लेख गरे। साथै, शिक्षा क्षेत्रमा सरकारको उदासीनता र गैरदायित्वपूर्ण व्यवहारले समग्र शैक्षिक प्रणाली ध्वस्त भएको भन्दै आपत्ति जनाए।
“विद्यार्थीहरू फार्मेसी, इन्जिनियरिङ, पारामेडिकलजस्ता विषयहरू पढ्न चाहन्छन्,” उनले भने, “तर सरकारले समयानुकूल नयाँ कार्यक्रमहरू ल्याउन सकेको छैन। दलालहरूसँगको मिलेमतोका कारण युवाहरू पलायन हुने अवस्थामा पुगेका छन्।”
भण्डारीले सार्वजनिक विश्वविद्यालयहरूबाट नै व्यवसायमुखी र पेसागत शिक्षा प्रदान गरिनु पर्ने र आर्थिक अभावका कारण विद्यार्थीहरू उच्चशिक्षाबाट बञ्चित हुनु नपर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया