काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि केही सीमित व्यक्तिहरुको पहुँचमा मात्र सिमित नहुनु पर्ने स्पष्ट गर्दै त्यसको प्रत्यक्ष अनुभूति आम जनताले गर्न सक्नुपर्नेमा जोड दिएकी छन्।
नेपाल खबरद्वारा आयोजित ‘राइजिङ नेपाल समिट’मा प्रमुख वक्ताको रूपमा बोल्दै भण्डारीले भनिन्, “समृद्धि मुठ्ठीभर मानिसहरूको लागि मात्र होइन, सम्पूर्ण जनताको जीवनमा अनुभूत हुने गरी हुनुपर्छ। हामीले यो सन्देश बिर्सनु हुँदैन।”
उनले समृद्धिका लागि राजनीतिक स्थायित्व, पारदर्शिता र जनविश्वास अनिवार्य रहेको उल्लेख गर्दै त्यसकै आधारमा मात्रै वैदेशिक र स्वदेशी लगानी आकर्षित गर्न सकिने धारणा राखिन्। “लगानीले मात्र होइन, त्यसको प्रतिफलले आम नागरिकको जीवनस्तर उकास्नुपर्छ,” उनले भनिन्।
भण्डारीका अनुसार, लगानीको ढोका खोल्नु भनेको केवल मुनाफाको खोजी होइन, न्याय, सम्भावना र आपसी विश्वास निर्माण गर्ने कार्य हो। “नीति स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन जति आवश्यक छ, त्यति नै राजनीतिक नेतृत्वको दृढता पनि अपरिहार्य छ,” उनले थपिन्।
उनले नेपालले अरू राष्ट्रको विकास मोडेल सिधै अनुकरण गर्नुको सट्टा आफ्नै आवश्यकता, स्रोत, साधन र मौलिकता अनुरूपको रणनीति तयार गर्नुपर्नेमा जोड दिइन्। कृषि क्षेत्रलाई आधुनिक र व्यवसायमुखी बनाउँदै आयात प्रतिस्थापन गर्नु अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने उनको भनाइ थियो।
भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ चरणमा प्रवेश गर्दै गरेको बताउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरिन्, “नेपालमा लगानी गर्नु भनेको केवल नाफाको कुरा होइन, यो ऐतिहासिक साझेदारीको अवसर हो। यस्तो लगानीले युवालाई रोजगारी, उद्यमीलाई प्रेरणा र गाउँ-घरमा उज्यालो ल्याउनेछ।”
उनले समृद्धिलाई अब सपना होइन, सबै नेपालीको साझा संकल्प बनाइनुपर्ने आवश्यकता औंल्याउँदै आर्थिक समृद्धिको यात्रामा सबैले जुट्न आह्वान गरिन्।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया