काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले प्रविधिको दुरुपयोगमार्फत बढ्दो मानव बेचबिखन नियन्त्रण गर्न राज्यले प्रभावकारी तथा प्रविधिमैत्री कानुनी संरचना निर्माण गर्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) विधेयक’माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आधुनिक प्रविधिको प्रयोग गरी मानव तस्करीको नयाँ रूप देखा परिरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
“आज प्रविधिको दुरुपयोग गरेर मानव बेचबिखन सहज बनाउने कुचेष्टा भइरहेको छ,” सांसद शर्माले भने, “मानव तस्करी अहिले सीमापार प्रलोभन, अनावश्यक आशा र भिजिट भिसा जस्ता विधिहरू प्रयोग गरेर भइरहेको छ ।”
उनले खाडी मुलुकहरूमा रोजगारका लागि पठाइएका नेपाली महिलाहरूले भोगिरहेको पीडा उदाहरणीय रहेको उल्लेख गर्दै यस्तो अवस्थाको अन्त्यका लागि कानुनी संरचना थप सुदृढ गर्नुपर्ने बताए। “नेपाली नागरिकहरू पाइलापाइला बेचिइरहेका छन्,” उनले भने, “अब यो अवस्थालाई रोक्न कानुनलाई प्रविधिसँगै बलियो बनाउनुपर्छ ।”
सांसद शर्माले सरकारलाई मानवीय सुरक्षा र गरिमाको संरक्षण सुनिश्चित गर्न ढिलो नगरी ठोस, कडा र व्यवहारिक कानुनी व्यवस्था गर्न आग्रह गरे। उनले प्रस्तावित विधेयकलाई यथार्थपरक बनाउँदै आधुनिक मानव तस्करीका जटिल स्वरूपलाई सम्बोधन गर्न आवश्यक रहेको धारणा राखे ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया