काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको ट्याक्सीवे विस्तारको काम ६० प्रतिशत पूरा भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत भइरहेका कामबारे स्थलगत जानकारी गराउँदै विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सीवे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको पूर्वतर्फको ह्याङ्गर एप्रोन गरी तीन प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम युद्धस्तरमा भइरहेको बताए ।
उनले भने, “धावनमार्ग जोड्ने पूर्वतर्फ र पश्चिमतर्फको नयाँ ट्याक्सीवे निर्माणपछि धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने छ ।
विमानस्थलको पार्किङ एरिया विस्तारपछि न्यारोबडी र वाइडबडी गरेर २९ वटा जहाज पार्किङ गर्न सकिने भएकाले पार्किङ क्षमता बढ्दा आकाशमा जहाज होल्ड नहुने र स्लट पनि बढ्ने विश्वास लिएका छौँ ।”
हाल बुद्ध एयरको ह्याङ्गरको दक्षिणी क्षेत्रमा दुई वटा ह्याङ्गर निर्माण हुने र उत्तरतर्फ नेपाल वायु सेवा निगमको ह्याङ्गर निर्माण हुने अधिकारीको भनाइ छ । अहिले सेवा दिँदै आएको अन्तर्राष्ट्रियतर्फको टर्मिनल भवन साँघुरो भएकाले अहिले निगमको ह्याङ्गर र नेपाली सेनाको भिभिआइपी भवन रहेको स्थानमा नयाँ टर्मिनल भवन निर्माण गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण भएपछि अहिलेको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिक टर्मिनलमा रूपान्तरण गरिने छ ।
आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार विमानस्थल विस्तार गुरुयोजना अन्तर्गत तीन हजार मिटरको धावनमार्ग विस्तार गरेर तीन हजार तीन सय मिटरभन्दा लामो बनाइएको छ । चार वटा ठुला जहाज अटाउने अन्तर्राष्ट्रिय एप्रोन पनि तयार भइसकेको छ । अहिले त्रिभुवन विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय र १७ वटा आन्तरिक जहाज पार्किङ क्षमता छ ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया