काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खडेरीबाट प्रभावित जनताको दयनीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग माग गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले खडेरीको कारणले खेतीबाली मात्र नभइ, खानेपानीको समेत गम्भीर समस्या उत्पन्न भएको उल्लेख गरेका छन्।
“वर्षा नहुनुका कारण तापक्रम अस्वाभाविक रूपले बढेको छ भने तराई-मधेशका जिल्लाहरूले गम्भीर खडेरीको सामना गरिरहेका छन्। खेतमा रोपाइँ गर्न नसकिने अवस्था मात्र होइन, सर्वसाधारणलाई खानेपानीसम्म अभाव हुने परिस्थिति छ,” उनले लेखेका छन्।
श्रेष्ठका अनुसार, मधेश प्रदेश सरकारले प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि मधेशका सबै जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ।
तर, उनले यस्ता घोषणामात्रले तत्कालको समस्या समाधान नहुने भन्दै पीडित जनताको राहतका लागि स्पष्ट योजना र कार्यक्रम आवश्यक भएको तर्क गरेका छन्। “घोषणाको मात्रै होइन, त्यसको प्रभावकारी कार्यान्वयन जरुरी छ। सरकारले अहिलेसम्म त्यसतर्फ गम्भीर ध्यान नदिएको देखिन्छ। त्यसैले, अब ढिला नगरिकन राहत प्याकेज घोषणा गरिनुपर्छ,” उनले भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली आज बारा र महोत्तरी जिल्लाको खडेरी प्रभावित क्षेत्र अवलोकन गर्न जाँदै गर्दा श्रेष्ठको यस्तो टिप्पणी आएको हो।
सरकारले बिहीबार मात्रै मधेश प्रदेशलाई औपचारिक रूपमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। तर, जनस्तरमा तत्काल राहत र दीर्घकालीन समाधानको माग चर्किंदै गएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया