काठमाडौं । निजामती सेवा विधेयकमा देखिएको ‘कुलिङ पिरियड’सम्बन्धी विवादास्पद त्रुटिको छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिको कार्यकाल थप सात दिन बढाइने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले समितिको म्याद थप गर्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। प्रतिनिधिसभाको कार्यसूचीअनुसार, समितिलाई थप एक साताका लागि समय दिने निर्णय गरिनेछ ।
विधेयकमा अवकाशप्राप्त निजामती कर्मचारीलाई दुई वर्षसम्म संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने ‘कुलिङ पिरियड’को प्रावधान राखिएको थियो। तर प्रतिनिधिसभाबाट विधेयक पारित हुने बेलामा सो प्रावधान निष्क्रिय हुने गरी अर्को व्यवस्था समावेश भएको पाइएपछि विवाद उत्पन्न भयो।
यसप्रकारको महत्वपूर्ण त्रुटिपछि संसदीयस्तरमै गम्भीर चासो व्यक्त भएपछि छानबिन गर्न विशेष समिति गठन गरिएको थियो। नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठन गरिएको उक्त समितिलाई साउन ११ गतेसम्मका लागि २१ दिने कार्यकाल दिइएको थियो।
समितिको प्रारम्भिक छलफलकै क्रममा विभिन्न दलका सांसदबीच मतभेद चुलिएपछि समिति सभापतिले नै सभामुख देवराज घिमिरेसमक्ष थप छानबिन आवश्यक रहेको भन्दै म्याद थपको सिफारिस गरेका थिए। त्यसपछि समितिले थप समय माग गरेको र सोही अनुसार सात दिन म्याद थप गर्ने तयारी भएको सभामुखको सचिवालयले जनाएको छ।
समितिले थपिएको म्यादभित्र विधेयकमा कसरी त्रुटि भएको, जिम्मेवारी कसको थियो, र त्रुटि सच्याउने उपाय के हुन सक्छ भन्ने विषयमा विस्तृत प्रतिवेदन तयार गर्नेछ। प्रतिवेदनको आधारमा संसदले विधेयकको सम्बोधन र आवश्यक सुधारको निर्णय लिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया