काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले रूपन्देही–३ मा हुने उपनिर्वाचनबारे पार्टीस्तरीय रणनीति निर्माणका लागि छलफल गरेको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको नेताहरूको बैठकमा निर्वाचन तयारीबारे व्यापक विचारविमर्श गरिएको हो।
पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठकमा आगामी उपनिर्वाचनमा अपनाउनुपर्ने रणनीति, योजनासहित निर्वाचन क्षेत्रको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा भएको हो। “रूपन्देहीको उपनिर्वाचन केन्द्रमा राखेर छलफल भयो,” उनले भने, “मुख्यरूपमा रणनीति र तयारीबारे कुराकानी गर्यौं।”
उनले अघिल्लो संघीय निर्वाचनमा कांग्रेसले प्राविधिक कारणले हार बेहोरेको भए पनि मतको हिसाबले पार्टी बलियो अवस्थामा रहेको बताए। “२०७९ को निर्वाचनमा गठबन्धनबाट लडिएको थियो,” घिमिरेले सम्झिए, “तर समानुपातिक मत हेर्दा कांग्रेस पहिलो थियो। कांग्रेसले २० हजार, एमालेले १६ हजार र रास्वपाले १४ हजार मत ल्याएका थिए। त्यसपछि मधेस केन्द्रित दलहरूको मत थियो।”
उनका अनुसार, हाल चुनावी समीकरण कस्तो बन्छ भन्ने स्पष्ट नभए पनि विभिन्न दलहरू बीचको सम्भावित गठबन्धनबारे पनि चर्चा भइरहेको छ। उनले भने, “कांग्रेस, एमाले, रास्वपा र मधेसवादी दलबीच एकता हुने चर्चा पनि चलेको छ। तर कांग्रेस नै पहिलो दल हो भन्ने हाम्रो आकलन छ।”
स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले बलियो उपस्थिति देखाएको उल्लेख गर्दै उनले रूपन्देही–३ मा जनमत अझै पनि पार्टीको पक्षमा रहेको दाबी गरे।
यसैबीच, मन्त्रीपरिषद् पुनर्गठनबारे भने उक्त बैठकमा कुनै छलफल नभएको घिमिरेले स्पष्ट पारे।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया