काठमाडौं । गाजामा युद्धविराम स्थापनाका लागि भइरहेको अन्तर्राष्ट्रिय प्रयास नयाँ मोडमा पुगेको छ। युद्धविरामका लागि कतारमा भइरहेको अप्रत्यक्ष वार्ता निष्कर्षविहीन भएपछि अमेरिका र इजराइलले आफ्ना वार्ता टोली फिर्ता बोलाएका छन्।
युद्धविरामका लागि कतार, इजिप्ट र अमेरिका संयुक्त रूपमा मध्यस्थकर्ता थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफका अनुसार वार्ताबाट सकारात्मक उपलब्धि नदेखिएपछि टोलीलाई फिर्ता बोलाइएको हो। उनले हमास वार्तामा विश्वासिलो रूपमा प्रस्तुत नभएको टिप्पणी गरे।
दूत विटकोफले भने, “मध्यस्थकर्ताहरूको गम्भीर प्रयासका बावजुद हमासले सकारात्मक समन्वय देखाएको छैन। त्यसैले हामीले वार्ता टोली फिर्ता बोलाएका हौं।”
तर इजराइली पक्षले भने वार्ता पूर्णतः भंग भएको अस्वीकार गर्दै टोलीलाई केही प्राविधिक छलफलका लागि फिर्ता बोलाइएको प्रतिक्रिया दिएको छ।
हमासले भने वार्ता प्रक्रिया जारी रहेको र आफ्नो अन्तिम प्रतिक्रिया सकारात्मक रहेको दाबी गरेको छ। उसले विटकोफको टिप्पणीप्रति आश्चर्य व्यक्त गर्दै स्थायी युद्धविरामका लागि प्रयास अविच्छिन्न रूपमा चलिरहेको स्पष्ट पारेको छ।
इजराइल र हमासबीचको मुख्य मतभेद इजराइली फौज कहाँसम्म फिर्ता हुनेछ भन्ने र बन्धक तथा कैदीको साटासाट कसरी गरिने भन्ने विषयमा केन्द्रित छ। हमासले इजराइली प्रस्तावको मूल प्रारूप स्वीकार गरे पनि इजरायली सेनाको फिर्ती र कैदी साटासाटबारेको सर्तमा अझै सहमति जुट्न सकेको छैन।
केही हप्ता अघि राष्ट्रपति ट्रम्पले ६० दिनको युद्धविराम सहमति नजिकै पुगेको बताएका थिए। तर पछिल्ला घटनाक्रमले उक्त आशामा ब्रेक लागेको देखिन्छ।
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालैको वाशिङ्टन भ्रमणमा ट्रम्पलाई हमास वार्तामा गम्भीर नभएको बताएका थिए।
हाल हमासको नियन्त्रणमा झन्डै ५० जना इजराइली बन्धक रहेको बताइएको छ, जसमा कम्तीमा २५ जना जीवित रहेको अनुमान छ।
युद्धविराम प्रयास फस्टाउन नसक्दा गाजामा मानवीय संकट झन् गहिरिँदै गएको छ। वार्ता फेरि अघि बढ्ने सम्भावना अझै बाँकी भए पनि तत्कालिक रूपमा त्यसको स्पष्ट संकेत देखिएको छैन।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया