काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले कम्युनिस्ट दलहरू संघीय शासन प्रणालीप्रति नै आस्था नभएको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयता जोगाउने र संविधान संशोधन गर्ने जिम्मेवारी नेपाली कांग्रेसकै भएको स्पष्ट पारे।
नेता निधिले संविधान जारी गर्दा गरिएको जनप्रतिबद्धता स्मरण गर्दै संविधान संशोधन कांग्रेसले अनिवार्यरूपमा गर्ने बताए। “हामीले जनतालाई वाचा गरेका थियौं— संविधान जारीपछि आवश्यक संशोधन गर्छौं। त्यो प्रतिबद्धताको कारणले पनि अब संशोधन गर्नुपर्ने हो। त्यो काम कांग्रेसले मात्र गर्छ। किनभने कम्युनिस्टहरूको प्राथमिकतामै छैन संघीयता,” निधिले आरोप लगाए।
उनले संशोधनको लागि आवश्यक दुईतिहाइ मत संख्या अहिले नपुग्न सक्ने भए पनि त्यसले बहस रोक्न नहुने तर्क गरे। “संख्या पुग्दैन भनेर पछि लाग्नुपर्ने होइन, बहस सुरु गर्नुपर्छ,” उनले भने, “हामीले अंगीकार गरेको विचार, प्रणाली जनताका लागि उपयुक्त छ भन्ने हाम्रो विश्वास छ, त्यसैले त्यसलाई समृद्ध बनाउन कांग्रेस अगाडि बढ्छ।”
निधिले नेपाली कांग्रेसले संविधान संशोधनको आवश्यकतालाई लिएर राष्ट्रिय बहस सुरु गर्ने निर्णय गरिसकेको बताए। “राष्ट्रिय बहस, दलीय बहस र आम जनस्तरसम्म पुग्ने गरी विचार विमर्श गर्न जरुरी छ,” उनले थपे।
यसअघि नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सन् २०८७ सालतिर मात्र सम्भव हुने बताएका थिए। एमाले–कांग्रेसबीच गत वर्ष गठन भएको सत्ता गठबन्धनका बेला संविधान संशोधनलाई मुख्य एजेन्डा बनाइएको थियो।
नेता निधिको भनाइले संविधान संशोधनप्रति कांग्रेसको स्पष्ट र अग्रसर भूमिका झल्काउँछ भने कम्युनिस्ट दलहरूको उदासीनतालाई चुनौती दिइएको सन्देश दिन्छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया