काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीचको सीमा क्षेत्रमा जारी तनावले झनै भयावह रूप लिँदै गएको छ। पछिल्ला झडपहरूमा परी थप १२ जनाको ज्यान गएको छ भने हालसम्म दुबै पक्षमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। मृतकमध्ये सैनिक र सर्वसाधारण दुवै रहेका छन्।

कम्बोडियाली अधिकारीहरूका अनुसार, शनिबार भएको हिंसात्मक भिडन्तमा कैयौँ व्यक्ति घाइते भएका छन्। अहिलेसम्म झडपका कारण करिब १३० जना घाइते भएका छन्। सीमा क्षेत्रमा गोलीबारी र विस्फोट बढेपछि हजारौँ नागरिकहरू आफ्नो घर छोडेर सुरक्षित स्थानमा शरण लिन बाध्य भएका छन्।

advertisement

थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित जिल्लाहरूबाट ५८ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उता, कम्बोडियाले २३ हजारभन्दा बढी नागरिकहरू विस्थापित भएको जनाएको छ।

विकट सीमा क्षेत्रमा जारी हिंसात्मक झडपका कारण स्थानीयहरूले बंकर निर्माण गरी ज्यान जोगाइरहेका छन्। थाइल्यान्डको सुरिन जिल्लामा विद्यालय र विश्वविद्यालयहरूलाई अस्थायी शिविरका रूपमा प्रयोग गरिएको छ।

यसबीच, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आपतकालीन बैठक आयोजना गर्दै दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। कम्बोडियाका राष्ट्रसंघीय प्रतिनिधिले तत्काल युद्धविरामको आह्वान गरेका छन्।

आसियानको अध्यक्ष देश मलेसियाले दुबै पक्षलाई वार्ताबाट समाधान खोज्न आग्रह गर्दै मध्यस्थता प्रस्ताव गरेको छ। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुबै देशले युद्धविरामको सैद्धान्तिक सहमति जनाइसकेको दाबी गरेका छन्।

सीमा तनावको सुरुवात गत मे महिनामा एक कम्बोडियाली सैनिकको मृत्युबाट भएको थियो। हालै थाई सैनिकहरू बारूदी सुरुङ विस्फोटमा परेर घाइते भएपछि झडप झनै उग्र बन्यो। त्यसपछि थाई सेनाले व्यापक जवाफी कारबाही थालेको हो।

कम्बोडियाली अधिकारीहरूले थाई सेनामाथि बौद्ध मन्दिर र विद्यालयहरूमा हमला गरेको आरोप लगाएका छन्। तर थाई पक्षले यो आरोप अस्वीकार गर्दै कम्बोडियाले आफ्ना तोपहरू नागरिक क्षेत्रमा लुकाएको दाबी गरेको छ।

झडपमा बालबालिका र वृद्धहरूको पनि मृत्यु भएपछि मानवीय संकट थप गहिरिँदै गएको छ। क्षेत्रीय सुरक्षामा गम्भीर असर पार्ने देखिएको यो द्वन्द्व चाँडै समाधान नभए ठूलो मानवीय क्षति हुने विज्ञहरूले चेतावनी दिएका छन्।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com