काठमाडौं । गाजामा कार्यरत एक अमेरिकी पूर्वसैनिकले इजरायली सेनाले युद्ध अपराध गरेको गम्भीर आरोप लगाएका छन्। बीबीसीसँगको कुराकानीमा एन्थोनी अगुइलार नाम गरेका पूर्वसैनिक तथा ठेकेदारले गत मे र जुनमा जीएचएफसँग काम गर्ने क्रममा उनले खाद्य वितरण केन्द्रमा सर्वसाधारणमाथि गोली, तोप र ट्यांक प्रयोग भएको देखेको दाबी गरेका हुन्।
उनले भने, “मेरो पूरै सैनिक जीवनमा यस्तो क्रूरता र निर्दोषमाथिको अत्याचार कहिल्यै देखिनँ।” यद्यपि जीएचएफले ती आरोप अस्वीकार गर्दै उनलाई “असन्तुष्ट पूर्वकर्मचारी” भनेको छ।
यसैबीच, गाजाको मानवीय संकट झनै गहिरिँदै गएको छ। विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार, गाजामा तीनमध्ये एक व्यक्ति दिनौं भोकै छन्, ९० हजार महिला र बालबालिकालाई तुरुन्त उपचार आवश्यक छ।
कुपोषणबाट हालसम्म १२२ जनाको मृत्यु भइसकेको छ। इजरायली नाकाबन्दीका कारण खाद्यान्न आपूर्तिमा व्यापक अवरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इजरायल भने हमासलाई दोष दिँदै आएको छ।
सहायता रोकिएको भन्दै संयुक्त राष्ट्रसंघ, जर्मनी, फ्रान्स र बेलायतले इजरायलको आलोचना गरेका छन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मरले गाजामा हवाईमार्गबाट सहायता पुर्याउने संकेत दिएका छन् र गम्भीर अवस्थाका बालबालिकालाई बेलायत ल्याएर उपचार गराउने तयारी रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसले भने, “गाजामा मानवता गुम्दै गएको छ।”
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया