काठमाडौं । गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक आन्दोलनमा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका छन्।
पोस्टर सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले चलचित्रले युवापुस्तालाई गणतन्त्र स्थापनासँग जोडिएको संघर्ष, तथा त्यसअघिको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाबारे जानकारी दिने विश्वास व्यक्त गरे। उनले भने, “हिजोको समाज कस्तो थियो, त्यो बुझ्नका लागि यस्तो प्रयास आवश्यक छ।”
रुद्राक्ष फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन भदौ दोस्रो साता देखि सुरु हुनेछ, भने प्रदर्शन मिति फागुन १ गतेका लागि तय गरिएको छ।
निर्देशक तिमिल्सिनाका अनुसार चलचित्रले गणतन्त्र स्थापनाका लागि भएका विभिन्न जनआन्दोलनहरूलाई कथा र पात्रमार्फत चित्रण गर्नेछ। निर्माता रुद्रप्रसाद खनालका अनुसार चलचित्र सत्य घटनामा आधारित हुनेछ र विशेषतः युवापुस्ताका लागि नेपालको राजनीतिक इतिहास बुझ्न सहयोगी बन्नेछ।
चलचित्रको छायांकन पश्चिम नेपालका रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया, पूर्वका धनकुटा, खोटाङ, भोजपुर तथा तराई मधेसको सर्लाही जिल्लामा गरिनेछ।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार












प्रतिक्रिया