कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा स्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा शनिबार बिहान भएको आगलागीमा करिब ३० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति नष्ट भएको छ।
बिहान पौने ८ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। इलाका प्रहरी कार्यालयका अनुसार आगोले बैंकमा रहेको एसी, फर्निचर, ल्यापटप, कम्प्युटरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएका छन्।
आगलागीलगत्तै शिवराज नगरपालिकाको दमकल तथा सुरक्षाकर्मीहरूको सहकार्यमा करिब डेढ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहका अनुसार भवन बाहिर रहेका केही सरसामानसमेत आगलागीबाट क्षतिग्रस्त भएका छन्। तर, बैंकमा रहेको नगद तथा डिजिटल डाटा भने सुरक्षित रहेका छन्।
बैंकको सम्पूर्ण क्षतिको विवरण संकलन कार्य जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया