काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने दाबीमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले चितवनमा विद्युत् आपूर्ति रोकिएको भए पनि त्यो मर्मतसम्बन्धी कामका कारण भएको भन्दै लोडसेडिङ भनेर गलत ढंगले बुझिएको बताए।
उनका अनुसार चितवनस्थित सबस्टेशन अपग्रेड गर्ने क्रममा पुराना कन्डक्टर फेर्ने कार्य भइरहेको छ। “पुराना कन्डक्टरले लोड धान्न नसकेपछि नयाँ कन्डक्टर जडान गर्नका लागि आइतबार र सोमबार विद्युत् आपूर्ति बन्द गरिएको हो,” शाक्यले भने, “यो नियोजित मर्मत कार्य हो, लोडसेडिङ होइन।”
विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले ६ घण्टासम्मको विद्युत् आपूर्ति बन्दको सूचना जारी गरेको थियो। अत्यधिक गर्मी, आकाशे पानी नपरेको, र रोपाईंको समयमा सिँचाइ लोड बढेपछि नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरू प्रभावित भएका थिए।
भरतपुरस्थित १३२/३३ केभी सबस्टेशनबाट जडान गरिएको ३३ केभी डग कन्डक्टरको क्षमता ३०० एम्पिएरसम्म मात्र रहेको भए पनि हाल सोमा ४५० एम्पिएरसम्मको लोड प्रवाह हुँदा समस्या देखिएको हो।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया