काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको नाममा अत्यधिक आलोचना गरिएको भन्दै केही चित्त नबुझेको भरमा आफूलाई अधिनायकवादी भन्दै आरोप लगाइने गुनासो गरेका छन्।
आइतबार बालुवाटारस्थित सरकारी निवासमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमा सुझाव र सुधारका कुरा हुनुपर्नेमा जोड दिए।
“अब राजनीतिक लडाइँको अवस्था छैन, लोकतन्त्र आइसकेपछि सुधार र सुझावका कुरा हुन्। कसैको कुण्ठा, इर्ष्या छ भने त्यो बेग्लै कुरा हो,” ओलीले भने, “दिनहुँ केही चित्त नबुझे अधिनायकवाद भनिहाल्ने प्रवृत्ति बढेको छ।”
अधिनायकवाद के हो भन्ने कुरा अघिल्लो पुस्ताले भोगेकाले बढी बुझ्ने उल्लेख गर्दै ओलीले भने, “गोलघर, कालकोठरी, नेल-हत्कडी, पिटाइ — यी सबै हामीले भोगेका हौं। त्यो अधिनायकवाद हो।”
उनले अहिलेको लोकतान्त्रिक व्यवस्थामा आलोचना गर्न, स्वतन्त्रतापूर्वक बोल्न सजिलो भएको भन्दै लोकतन्त्रको उपलब्धिमा सबैको योगदान रहेको स्मरण गराए। बीपी कोइरालाले संघर्षका दिनमा देखाएको बाटोप्रति कृतज्ञता व्यक्त गर्दै ओलीले भने, “बीपी मात्र नेपालमा होइन, भारतमा पनि समाजवादको बाटो देखाउने नेता हुनुहुन्थ्यो। त्यसैले नेपाली र भारतीय समाजवादीबीच भावनात्मक सम्बन्ध थियो।”
प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा र मजबूतीका लागि आलोचना होइन, सहकार्य र सुधारमा केन्द्रित हुनुपर्ने सुझाव पनि दिए।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया