काठमाडौं ।  नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गरेका छन्। उनले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’का विषयमा हालै प्रचण्डले दिएको अभिव्यक्तिलाई दोहोरो मापदण्डको संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले तीनवटा मुख्य प्रश्न उठाएका छन्।

पहिलो, उनले स्पष्ट पारे कि विधेयकमा ‘कुलिङ अफ पिरियड’ समावेश गर्नुपर्ने विषय स्वयं सांसदहरूले राखेको संशोधन प्रस्तावको आधारमा आएको हो र यसप्रति आफूहरू अझै प्रतिबद्ध रहेको बताए।

दोस्रो, भट्टराईले प्रश्न उठाए कि जब २०८० फागुन ११ गते सो विधेयक संसदमा दर्ता गरिएको थियो, त्यसबेला प्रचण्ड स्वयं प्रधानमन्त्री थिए र उनीकै अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको थियो। त्यतिबेला विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी कुनै प्रावधान नराखिएको भन्दै उनले सोधे, “त्यसबेला यो प्रावधान किन राखिएन? अहिले प्रतिपक्षी बेंचमा पुगेपछि मात्रै यो प्रावधानको आवश्यकता किन महसुस भयो?”

तेस्रो, उनले प्रचण्डलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति भित्र वरिष्ठतम सदस्यको हैसियतमा प्रश्न गर्दै भने, “समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरिसकेको अवस्थामा त्यो प्रावधान संसदमा पेश गर्दा किन परिवर्तन गरियो?” उनले प्रचण्डमाथि नै नैतिक प्रश्न उठेको दाबी गर्दै भने, “छानबिन त तपाईंमाथि नै हुनु पर्ने हो कि?”

अन्त्यमा, भट्टराईले प्रचण्डलाई लक्षित गर्दै लेखेका छन्, “आफ्नै बोली आफैलाई गलापासो नहोस्।”

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com