काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोग लगाउनुपर्ने माग गरेकी छन्।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पन्तले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको पछिल्लो फैसलामा प्रमुख राईकै भूमिकामाथि प्रश्न उठेको स्मरण गराउँदै उनले संवैधानिक जिम्मेवारी वहन गरिरहेका व्यक्तिमाथि गम्भीर आरोप लागिसकेको अवस्थामा या त उनले स्वयं राजीनामा दिएर अनुसन्धानको बाटो खोल्नुपर्ने वा संसद्ले महाभियोगको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखिन्।
‘वाइडबडी विमान खरिद प्रक्रिया अघि बढाउँदा उनी पर्यटन सचिव थिए,’ पन्तले भनिन्, ‘आज उनी अख्तियार प्रमुख छन्, तर विशेष अदालतले निर्णयमा उल्लेख गरेको छ कि यो अभियोजन चयनमुखी छ। यदि अरूको अभियोजन गरिन्छ भने उहाँको किन हुँदैन?’
उनले संविधानको धारा १०१ को उल्लेख गर्दै संसद्मा महाभियोगको व्यवस्था भएको स्मरण गराइन् र यसबारे सरकार तथा संसद् दुवैले गम्भीरता देखाउनुपर्ने बताइन्।
पन्तले देशका संवैधानिक निकायप्रति जनविश्वास खस्कँदै गएको, सेवा प्रदायक र सेवाग्राहीबीच अविश्वास बढिरहेको र राजनीतिक दलहरूभित्र समेत पारस्परिक विश्वासको संकट देखिएको उल्लेख गर्दै सरकारलाई गम्भीर चिन्तन गर्न आग्रह गरिन्।
त्यसैगरी उनले पछिल्ला दिनमा विभिन्न घुस प्रकरणमा मुछिएका मन्त्रीहरू खुला रूपमा हिँडिरहेको भन्दै सरकार मौन बस्ने कि जवाफ दिने भन्ने प्रश्नसमेत उठाइन्।
‘मन्त्रीहरू घुस प्रकरणमा तानिएका छन्, तर उनीहरू खुलेआम हिंडिरहेछन्। सरकार जिम्मेवार हुन्छ कि हुँदैन?’ उनले भनिन्।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार












प्रतिक्रिया