काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोकतान्त्रिक परिवर्तन ल्याउन नेपाली कांग्रेस र कम्युनिष्टहरूले कठिन संघर्ष, त्याग र बलिदानका साथ संयुक्त यात्रा गरेको स्मरण गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ प्रदान समारोहमा सम्बोधन गर्दै देश परिवर्तनका नेतृत्वदायी पात्रहरू कुनै पार्टीको मात्रै नभई सम्पूर्ण राष्ट्रका साझा धरोहर भएको बताएका हुन्।

advertisement

प्रधानमन्त्री ओलीले बीपी कोइराला र पुष्पलाल श्रेष्ठजस्ता नेताहरूलाई दलगत सीमाभन्दा माथि राख्नुपर्नेमा जोड दिए। “उनीहरू कुनै दल विशेषका होइनन्, उनीहरू राष्ट्रका साझा नेता हुन्,” ओलीले भने, “हामीले यस्तो साझा नेतृत्वलाई राजनीतिक सीमाभित्र मात्र बाँध्नु हुँदैन।”

अहिले सानो असहमति जनाउँदा पनि ‘अधिनायकवादी’ भन्ने ट्रेन्डप्रति आपत्ति जनाउँदै ओलीले भने, “आज सानो कुरा नपच्यो भने अधिनायकवाद भन्न थालिन्छ। तर, अधिनायकवाद कस्तो हुन्छ भन्ने कुरा जेल, हतकडी र कालकोठरी भोगेका बीपीजस्ता नेताहरूलाई थाहा छ। हामीहरूलाई पनि थाहा छ।”

उनले अहिलेको लोकतन्त्र सहज र खुला भएको बताउँदै त्यही लोकतन्त्रका लागि अघिल्लो पुस्ताले ठूलो जोखिम मोलेको स्मरण गराए।

प्रधानमन्त्री ओलीले बीपी कोइरालाको योगदानको स्मरण गर्दै भने, “बीपीजस्ता नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको हितका लागि संघर्ष गरे। त्यसैले उनीहरूको सम्मानस्वरूप सरकारले यो पुरस्कार स्थापना गरेको हो।”

उनका अनुसार पुराना पुस्ताका नेताहरू राजनीतिक झण्डा बोक्दा पनि व्यक्तिगत फाइदाको पछि लाग्दैन थिए, बरु देश र जनताको हकका लागि लड्न तयार हुन्थे। “आजको पुस्ताले पनि उनीहरूको योगदानबाट प्रेरणा लिनुपर्छ,” प्रधानमन्त्री ओलीले जोड दिए।

कार्यक्रममा साहित्य, राजनीति र समाज सेवामा योगदान पु¥याउने व्यक्तित्वलाई बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com