काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको विचार र परिकल्पना आज पनि मार्गदर्शक रहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले वीपी कोइरालालाई लोकतान्त्रिक आन्दोलनका अगुवा र समृद्ध राष्ट्र निर्माणको सूत्रधारका रूपमा स्मरण गरे।
“वीपी कोइराला त्यस्तो व्यक्ति हुन्, जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको नेतृत्व गर्नुभयो,” मन्त्री पाण्डेले भने, “उहाँले रोपेको लोकतन्त्रको बीउका कारण आज हामीले विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्न सफल भएका छौं। उहाँको परिकल्पना भनेको समृद्ध राष्ट्र बनाउने, असमानता हटाउने र नागरिकका अधिकार सुनिश्चित गर्ने हो।”
सरकारको समसामयिक राजनीतिक पृष्ठभूमिबारे बोल्दै उनले एमाले र नेपाली कांग्रेसबीचको सहकार्य आवश्यकताबाट प्रेरित भएको बताए। “दुई पार्टी नमिल्दा मुलुकमा अस्थिरता मौलाएको थियो। त्यसैले सहकार्य आवश्यक बन्यो,” उनले भने, “हामी अब २०८४ सालसम्म यही गठबन्धनलाई निरन्तरता दिनेछौं। त्यसपछि एमाले र कांग्रेसबीच स्वच्छ प्रतिस्पर्धा हुनेछ।”
उनले आगामी निर्वाचनमा गठबन्धनमा रहेका मन्त्रीहरूले गरेका कामको मूल्याङ्कनका आधारमा प्रतिस्पर्धा हुने पनि स्पष्ट पारे।
सो अवसरमा विभिन्न क्षेत्रका चारजना स्रष्टालाई ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार-२०८१’ बाट सम्मानित गरिएको थियो।
सम्मानित हुनेमा साहित्यतर्फ मोरङका भुवन ढुंगाना कोइराला, राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना गुरुङ, अछामका नयनसिंह कठायत र बैरागी काँइला नामले चिनिने तिलविक्रम नेम्वाङ छन्।
उनीहरूलाई दोसल्ला, प्रमाणपत्र र जनही एक लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया