विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई खारेज गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले क्युआर कोडमार्फत घुस मागिएको भनिएको विषयमा आफूको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।
आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री मण्डलले कुनै प्रमाणविना आफूमाथि लगाइएको आरोप ‘आधारहीन र पूर्वाग्रही’ भएको बताए। उनले प्रदेशसभा भित्रै गायक नवीन के भट्टराईको चर्चित गीत ‘खाँदै नखाएको विषले जिउँदै मार्यो’ उद्धृत गर्दै आफूलाई चरित्रहत्या गर्न खोजिएको टिप्पणी गरे।
“क्युआर कोड मेरो मोबाइलबाट पठाइएको हो भन्ने प्रमाण छ भने ल्याउनुस्,” मन्त्री मण्डलले चुनौती दिए, “कुन उद्देश्यले, कसले, र किन पठायो भन्ने विषयमा मेरो कुनै संलग्नता छैन।”
सार्वजनिक रूपमा आएको आरोप अनुसार मन्त्रीका सहयोगी अमृत मेहताले मन्त्रालयका एक कर्मचारीलाई क्युआर कोड पठाएर घुस मागेका थिए। यद्यपि, मन्त्री मण्डलले अमृत मेहता आफ्ना सचिवालयको सदस्य नभएको दाबी गरे। तर, स्रोतहरूका अनुसार अमृत मेहता प्रत्यक्ष रूपमा सचिवालयमा नियुक्त नभए पनि उनी मन्त्रीको ‘कार्यकर्ता व्यवस्थापन’मा संलग्न थिए र सन्तोष मेहताको नाममा नियुक्ति लिएर काम गर्दै आएका थिए। सन्तोष मेहता अमृतका भाइ हुन्।
विवाद चुलिएपछि मन्त्री मण्डलले अमृत मेहतालाई सचिवालयबाट हटाइसकेका छन्। तर उनले घटनामा आफूलाई जवरजस्ती मुछिएको भन्दै विरोध जनाए।
“गल्ती देखाउने तर प्रमाण दिनु नपर्ने? कागले कान लग्यो भन्दै कान नसमातीकन दौडनेमा म पर्दिनँ,” मन्त्री मण्डलले भने, “यदि मैले वा मेरो सचिवालयले क्युआर कोड पठाएर रकम मागेको प्रमाण छ भने सार्वजनिक गरियोस्। यसबाहेक म माथि लागेको आरोप घोर अन्याय हो।”
उनले उक्त प्रकरणको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह पनि गरेका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार












प्रतिक्रिया