काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले सरकारले देशभरका नागरिकलाई २४ सै घण्टा निरन्तर विद्युत् आपूर्ति गर्न प्रतिवद्ध भए पनि पुराना र जीर्ण पूर्वाधारका कारण चुनौती थपिएको बताएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारले ऊर्जा आपूर्तिलाई सहज, सुलभ र भरपर्दो बनाउने उद्देश्यसहित काम गरिरहेको स्पष्ट पारे। “सरकारको चाहना, दबाब र चुनौती सबै विद्युत् आपूर्तिमा केन्द्रित छन्,” उनले भने, “२४ सै घण्टा उज्यालो दिने लक्ष्यसहित हामी अघि बढिरहेका छौँ।”

advertisement

मन्त्री खड्काले देशभर विद्युत् विस्तार भए पनि दशकौँ पुराना प्रसारण लाइन, कमजोर ट्रान्सफर्मर र क्षमता नबढेको संरचनाका कारण समस्या देखिएको बताए।

“२१ वर्षअघि गाउँमा जडान गरिएको तार अहिले पनि प्रयोग भइरहेको छ, तर घरसंख्या र लोड क्षमता भने दोब्बर भएको छ,” उनले भने, “अहिले देखिएको ‘ट्रिपिङ’ समस्या भनेकै संरचनाले बढ्दो भार धान्न नसक्नु हो। अब यसमा आमूल सुधार आवश्यक छ।”

मन्त्री खड्काका अनुसार सरकारको लक्ष्य देशले आवश्यक विद्युत् आफैँ उत्पादन गर्नु, आन्तरिक खपत बढाउनु र बाँकी विद्युत् विदेशी बजारमा निर्यात गरी राष्ट्रिय आम्दानी बढाउनु हो।

“हामी आत्मनिर्भर बन्न चाहन्छौं, र बढी भएको विद्युत निर्यात गरेर समृद्धि ल्याउने सोचका साथ अघि बढिरहेका छौं,” उनले स्पष्ट पारे।

मन्त्री खड्काले ऊर्जा क्षेत्रमा केवल सरकारी प्रयास मात्र पर्याप्त नहुने भन्दै सामुदायिक तहमा समेत नयाँ सोच, प्रविधि र लगानीको खाँचो औँल्याए।

“पुराना शैलीमा अल्झिरहनु हुँदैन, हामी सबैले मिलेर अगाडि बढ्नुपर्छ,” उनले भने, “नयाँ सोच, नयाँ प्रयास, र सहकार्यबाट मात्र ऊर्जा क्षेत्रको रुपान्तरण सम्भव छ।”

उनले छिमेकी राष्ट्रहरूले आर्थिक र प्राविधिक उन्नतिमा तीव्र गति लिइसकेको स्मरण गराउँदै नेपालले पनि त्यो लय समात्नुपर्छ भन्ने धारणा राखे।

“अब हामी हेरेर मात्र बस्ने समय होइन,” मन्त्री खड्काले जोड दिए, “देश विकासको यात्रामा अघि बढ्न सबै नेपालीको हातेमालो आवश्यक छ।”

मन्त्री खड्काले सरकारको योजनामा संरचनागत सुधार, नवीकरणीय ऊर्जा प्रवर्द्धन, र विद्युत् आपूर्तिमा आत्मनिर्भरता प्रमुख प्राथमिकता रहेको उल्लेख गरे।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com