काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई डिजिटल युगमा अगाडि बढाउन सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले अहिलेको युग इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युग भएको उल्लेख गरे।
“आजको समय प्रविधिको हो,” उनले भने, “इन्टरनेट र एआईको प्रयोग गरेर हामीले राष्ट्रलाई विकासको नयाँ चरणमा लैजान सक्ने अपार सम्भावना छ।”
सभापति देउवाले आर्टिफिसियल इन्टेलिजेन्सलाई केवल भविष्यको सपना नभई वर्तमानको आवश्यकता भन्दै यसको प्रभावकारी प्रयोग अपरिहार्य भएको धारणा राखे।
“एआई अब केवल परिकल्पना होइन, आजकै आवश्यकता हो,” उनले भने, “हामीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार र सार्वजनिक सेवामा यसको अधिकतम उपयोग गर्नुपर्ने समय आएको छ।”
सभापति देउवाले प्रविधिमा भएको द्रुत परिवर्तनलाई ध्यानमा राख्दै कांग्रेस पार्टी आफैंले पनि डिजिटल रणनीतिमा अघि बढ्नुपर्नेमा जोड दिए। “एआई र डिजिटल प्रविधिको प्रयोग केवल सरकारमा मात्र सीमित हुनुहुँदैन, राजनीतिक दलहरूले पनि यसलाई आत्मसात् गर्नुपर्छ,” उनले भने।
उनका अनुसार, एआईको सही प्रयोगबाट सुशासन, पारदर्शिता, र सेवाप्रवाहमा आमूल परिवर्तन ल्याउन सकिने छ।
“अब डिजिटल नेपाल बनाउने समय हो,” देउवाले भने, “हामी ढिला भयौं भने अरू देशहरूले धेरै टाढा पुगिसक्नेछन्। त्यसैले समयमै प्रविधिको साथ लिनैपर्छ।”
उनले आगामी दिनमा सूचना प्रविधिमा युवा पुस्ताको सशक्त सहभागिता सुनिश्चित गर्न कांग्रेसले विशेष योजना ल्याउने प्रतिबद्धता पनि जनाए।
कार्यक्रममा कांग्रेसका अन्य नेताहरू, सूचना प्रविधि विज्ञहरू र युवाहरूको पनि उपस्थिति रहेको थियो।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार












प्रतिक्रिया