काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा अन्तर्राष्ट्रियस्तरको भव्य रङ्गशाला निर्माणको सम्भावनाबारे महत्वपूर्ण छलफल गरेका छन्। आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित बैठकमा सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उच्च अधिकारीहरू सहभागी थिए।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले काठमाडौँस्थित दशरथ रङ्गशाला दर्शक क्षमताको हिसाबले अपुग भएकाले राजधानी नजिकै ठूलो र सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नु आवश्यक रहेको धारणा राखे।
यस अवसरमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले वडा नं. ८ स्थित जगाते क्षेत्रको करिब २०० रोपनी सार्वजनिक जमिन (पूर्व इँटा-टायल कारखानाको क्षेत्र) रङ्गशाला निर्माणका लागि प्रदान गर्न सकिने जानकारी दिए। साथै, आवश्यक प्रक्रिया यथाशक्य चाँडो अघि बढाइने प्रतिवद्धता जनाए।
प्रधानमन्त्री ओलीले सो स्थानमा कम्तीमा ५० हजार दर्शक अट्ने स्तरीय र बहुप्रयोगी रङ्गशाला निर्माण गर्ने स्पष्ट प्रतिबद्धता जनाउँदै आवश्यक पूर्वाधार तयार गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिए।
उक्त परियोजना सफल कार्यान्वयन भएमा नेपालको खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान पुग्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया