सिरहा । सिरहा जिल्लाको गोलबजार नगरपालिका–३, पुरन्डी टोलमा भाइले आफ्नै दाजुको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ३५ वर्षीय मोतिराम सदा (लेला)को हत्या गरेको आरोपमा उनका २५ वर्षीय भाइ श्यामकुमार सदा (भुटका) पक्राउ परेका हुन्।

प्रहरी उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार घटना गत बिहीबार राति करिब पौने ९ बजे घटेको हो। झगडाको खबर पाएपछि इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो।

advertisement

त्यहाँ दाजु मोतिराम गम्भीर घाइते अवस्थामा फेला परेका थिए। छातीमा धारिलो हतियार प्रहारबाट गहिरो चोट लागेको अवस्थामा भेटिएका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भयो।

प्रारम्भिक अनुसन्धान अनुसार श्यामकुमार आफ्नी १९ वर्षीया श्रीमती कौसिला देवीमाथि कुटपिट गरिरहेका थिए। सो देखेर दाजु मोतिराम झगडा छुट्याउन पुगेका थिए। त्यसक्रममा श्यामकुमारले दाजुमाथि आक्रमण गरेको डिएसपी पासवानले जानकारी दिए।

हत्या गरेपछि श्यामकुमार फरार भएका थिए। उनलाई प्रहरीले सिरहाको औरही गाउँपालिका–३, जमुवा नहर क्षेत्रमा भारततर्फ भाग्दै गरेको अवस्थामा आइतबार पक्राउ गर्न सफल भएको हो।

प्रहरीले श्यामकुमारलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ। यो घटनाले घरेलु हिंसाबाट सुरु भएर पारिवारिक त्रासदीमा परिणत भएको गम्भीर अवस्था देखाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com