काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मङ्सिर महिनाभित्र सम्पन्न गर्ने गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई चुस्त र प्रभावकारी तयारी गर्न स्पष्ट निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको उच्चस्तरीय छलफलमा ओलीले सन् २०२६ मा जापानमा आयोजना हुने एसियन गेम्सको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशको गौरवसँग जोडिएको विषय भएकाले यसको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भने, “यो केवल प्रतियोगिता होइन, देशको इज्जतको सवाल हो — तयारीमा कुनै ढिलासुस्ती हुनुहुँदैन ।”
ओलीले प्रतियोगिताको मिति र स्थान वैज्ञानिक ढंगले अध्ययन गरेर यथाशीघ्र टुंगो लगाउन पनि निर्देशन दिए। “एकचोटि मिति र स्थान तय भएपछि त्यसमा फेरबदल गर्नु हुँदैन,” प्रधानमन्त्रीको भनाइ थियो ।
छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टङ्कलाल घिसिङलगायत उच्च अधिकारीहरूको सहभागिता थियो ।
प्रधानमन्त्रीसमेत रहेका परिषद् संरक्षक ओलीले मन्त्रालय र परिषद् नेतृत्वबीच आपसी समन्वय र सहकार्य अझ मजबुत बनाउने आवश्यकता पनि औंल्याएका थिए ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार












प्रतिक्रिया