काठमाडौं । हालै अमेरिकामा प्रदान गरिएको ‘हामी नेपाली ग्लोबल हिरो अवार्ड’ सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यस्तैमा सांसद छिरिङ ल्हामु लामाले उक्त अवार्डको वैधता, प्रक्रिया र त्यसको प्रचारशैलीप्रति गम्भीर प्रश्न उठाउँदै फेसबुकमार्फत आलोचना गरेकी छन्।
उनको भनाइ अनुसार, अवार्ड न त अमेरिकी राष्ट्रपति वा कुनै सरकारी निकायबाट प्रदान गरिएको हो, न त USAID जस्ता अन्तर्राष्ट्रिय संस्थाको सम्बन्धमा रहेको संघसंस्थाबाट। “अवार्डको नाम त ‘हामी नेपाली ग्लोबल हिरो अवार्ड’ हो, तर मिडियामा ‘हामी नेपाली’ भन्ने अंश नै हटाएर ‘ग्लोबल हिरो’ मात्र बनाएर प्रचार गरिँदा भ्रम सिर्जना गरिएको छ,” उनले लेखेकी छन्।
लामाले एक स्थानीय पत्रकारलाई अवार्ड पाउने व्यक्तिले मासिक एक लाख तलब दिने प्रस्ताव गरेको आरोप पनि लगाएकी छन्। उनले लेखेकी छन्, “त्यो पत्रकारले सो प्रस्ताव अस्वीकार गरे भन्ने सुनिएको छ, तर एउटै व्यक्तिको प्रचार मात्रै गर्नु पत्रकारिताको आचारसंहिताभित्र पर्दैन भन्ने कुरा जिम्मेवार नेतृत्वलाई थाहा हुनुपर्थ्यो।”
उक्त पोस्टमा लामाले भ्रष्टाचार विरोधी अभियानको रूपमा पहिचान बनाएका व्यक्तिले आफैं व्यापारिक र ठेक्के स्वार्थमा संलग्न भएको दाबी गर्दै भनेकी छन्, “रातारात रोडबाट करोडमा पुगेका व्यक्तिलाई सम्मान नगरेर कसलाई गर्ने? उनका स्वकीयहरू समेत आइफोन बोकेर हिँड्न थालेका छन्।”
फेसबुक पोस्टको अन्त्यमा लामाले तिखो कटाक्ष गर्दै लेखेकी छन्, “भोलि त विश्व शान्तिको नोबेल पुरस्कार पनि अमेरिकामा बस्ने पल्लाघरे माइलदाइको हातबाट लिन पुगे भने अचम्म नमान्नु। दुनियाँ झुक्काउने छट्टु कला भने मान्नैपर्छ।”
उनको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसले अवार्डको प्रक्रिया, पारदर्शिता र मिडिया आचारसंहिता सम्बन्धी बहसलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया