चितवन । सरकारद्वारा सुख्खाग्रस्त मधेशका विभिन्न जिल्लामा तत्काल ५०० वटा डीप बोरिङ जडान गर्ने निर्णयपछि त्यसका लागि आवश्यक विद्युत आपूर्तिको अवस्थाबारे स्थलगत अवलोकन गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आजै जनकपुर जाँदैछन्।
चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या समाधानका लागि चितवन आएका शाक्यले आज बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै जनकपुर हुँदै मधेश प्रदेशका विभिन्न जिल्लामा पुग्ने जानकारी दिए। उनले मंगलवार (भोलि) मधेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लामा कार्यरत विद्युत प्राधिकरणका प्रमुखहरूसँग बैठक गरेर आगामी रणनीति तय गर्ने बताए।
“सरकारले तत्काल ५०० वटा डीप बोरिङ खन्ने निर्णय गरेसँगै ती क्षेत्रहरूमा विद्युत आपूर्तिको व्यवस्था कसरी मिलाउने भन्ने विषयमा आफैं फिल्डमा गएर बुझ्ने निर्णय गरेको हुँ,” शाक्यले बताए।
उनका अनुसार ती बोरिङ सञ्चालनका लागि न्यूनतम १० मेगावाट विद्युत आवश्यक पर्छ, जुन उपलब्ध गराउन प्राधिकरणले समयमै तयारी गर्नुपर्ने हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खाग्रस्त मधेशमा पानी अभावका कारण उत्पन्न संकट समाधान गर्न ५०० वटा डीप बोरिङ तत्काल जडान गर्ने घोषणा गरेका थिए। यो कार्यान्वयनका लागि आवश्यक विद्युत पूर्वाधार निर्माण र आपूर्तिको सुनिश्चिततामा विद्युत प्राधिकरण जुटेको हो।
शाक्यको जनकपुर भ्रमणपछि क्षेत्रीय कार्यालय र स्थानीय प्राविधिक निकायसँग समन्वय गरेर बोरिङ जडान स्थलहरूमा विद्युत आपूर्तिको सम्भाव्यता र पूर्वाधार विस्तारका लागि ठोस योजना बनाइने बताइएको छ।
उनको स्थलगत अनुगमनले मधेशको विद्यमान सुक्खा संकट समाधानमा प्रभावकारी सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया