काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर कतै पनि लोडसेडिङ नभएको स्पष्ट पारेका छन्। चितवनमा देखिएको विद्युत आपूर्ति समस्यालाई प्राविधिक कमजोरीको कारण भएको भन्दै उनले यसको समाधान चाँडै हुने बताएका छन् ।
सोमबार भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै शाक्यले अहिलेको विद्युत आपूर्ति अवरोधलाई लिएर अनावश्यक रूपमा कुप्रचार भइरहेको आरोप लगाए। “बढ्दो गर्मी, वर्षा नहुनु र पुरानो वितरण प्रणालीका कारण चितवनमा समस्या देखिएको हो, यो लोडसेडिङ होइन,” उनले भने, “अबको केही घण्टामा समस्या समाधान हुनेछ ।”
शाक्यका अनुसार चितवनमा विद्युत आपूर्ति संकटको मुख्य कारण भनेको पुरानो तथा जीर्ण वितरण संरचना हो, जसलाई समयमै स्तरोन्नति गर्न नसकिएको स्वीकार गर्दै उनले भने, “काममा ढिलाइ भएको हो, तर मंगलबार बेलुकासम्म अवस्था सामान्य हुन्छ।”
उनले चितवनको चनौली वितरण केन्द्रबाट एक दिने विद्युत अवरोधको सूचना प्रकाशन भएपछि उत्पन्न आलोचनाबारे स्पष्टीकरण दिंदै भने, “स्थानीय स्तरमा लोडसेडिङको तालिका निकाल्न दबाब दिने र कार्यालय घेराउ गर्ने अवस्था आएकोले सूचना निकालिएको हो, प्राधिकरणले नै लोडसेडिङको घोषणा भने गरेको होइन।”
शाक्यले तराईका अधिकांश क्षेत्रमा देखिएको समस्या पनि बोरिङ मोटर अत्यधिक मात्रामा एकैपटक सञ्चालन गरिनुले भएको बताए। “हामीले साँझ ५ देखि ९ बजेसम्म मोटर नचलाउन आग्रह गरेका थियौं, तर त्यसको पालना भएन,” उनले भने, “यसले विद्युत सञ्जालमा अनावश्यक लोड सिर्जना भयो।”
उनले आजै पुरानो भरतपुर वितरण केन्द्रको निरीक्षण गरेका छन् भने चनौली वितरण केन्द्रको पनि अवलोकन गरेका छन्। साथै, पूर्वी चितवनको हर्दीमा जडान गरिएको २४ एमभीएको नयाँ ट्रान्सफर्मरको परीक्षण तथा प्रसारणका विषयमा जानकारी लिन जाने कार्यक्रम रहेको प्राधिकरणका सचिवालय सदस्य इन्जिनियर नारायण अर्यालले जानकारी दिए ।
हर्दी वितरण केन्द्रका प्रमुख रोशन खनियाँका अनुसार उक्त ट्रान्सफर्मर गएराति नै नो-लोड परीक्षणमा सफलतापूर्वक चार्ज गरिएको छ। “ढिलोमा भोलिसम्म वितरण सुरु हुन्छ,” उनले भने।
प्राधिकरणले हर्दीबाट भण्डारा, पर्साको चैनपुर र टाँडी सवस्टेशनमा विद्युत आपूर्ति गर्ने योजना बनाएको छ। यससँगै भरतपुरबाट पठाइँदै आएको लोड कटौती गरिने र टाँडी क्षेत्रको आपूर्ति देवनगर सवस्टेशन हुँदै जगतपुर र माडीमार्फत पुनः व्यवस्थित गरिनेछ।
प्राधिकरणको विश्वास छ कि यी योजनाहरू कार्यान्वयन भएपछि पूर्वी र पश्चिम चितवन दुवैतर्फको विद्युत आपूर्ति समस्या स्थायी रूपमा समाधान हुनेछ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया