काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले गाजामा खाद्य संकट र मानवीय अवस्थाका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल राहत पुर्‍याउनुपर्ने धारणा राखेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्वीटर) मा ओबामाले लेख्दै गाजाका निर्दोष नागरिकलाई खाना र पानीबाट वञ्चित राख्नु कुनै हालतमा उचित नहुने बताएका हुन्। “भोक, कुपोषण र अनिकालको चपेटामा परेका गाजाका मानिसहरूको पीडामा संसार मौन रहन मिल्दैन,” उनले लेखेका छन्।

advertisement

ओबामाले गाजाको संकटको दिगो समाधानका लागि दुई पक्षीय कदम आवश्यक भएको उल्लेख गर्दै इजरायली बन्धकहरूको सुरक्षित रिहाइ र इजरायलको सैन्य आक्रमणको अन्त्य अपरिहार्य रहेको बताए। उनले निर्दोष नागरिकहरूको ज्यान जोगाउन यथाशीघ्र अन्तर्राष्ट्रिय तहमा कारबाही आवश्यक भएको धारणा राखे।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा कुपोषण चिन्ताजनक रुपमा फैलिएको र बालबालिका तथा कमजोर वर्ग जोखिममा रहेको चेतावनी दिइसकेको छ। खाद्यान्न अभावका कारण गाजामा अनिकालजस्तो भयावह स्थिति उत्पन्न भएको छ।

यसैबीच, जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई)ले आइतबार गाजामा हवाईमार्गबाट राहत सामग्री खसालेका छन्। इजरायली सेनाले पनि केही भागमा दैनिक १० घण्टासम्म सैन्य कारबाही स्थगन गर्ने र संयुक्त राष्ट्र संघमार्फत मानवीय सहायता पुर्‍याउन एक ‘कोरिडोर’ खोल्ने जनाएको छ।

गाजाको संकट गहिरिँदै जाँदा ओबामासहित विश्व नेताहरूको आह्वानले मानवीय सहायताको आपूर्तिमा केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com