काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आइतबार बिहान दुई घण्टा लामो महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। शंकर पोखरेलको ललितपुरस्थित निजी निवासमा भएको भेटमा कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, सम्भावित सहकार्य, समाजवादी मोर्चा, राजनीतिक एकता र विप्लवको कृषि कर्म लगायतका विषयमा व्यापक छलफल भएको हो।
विप्लव आइतबार बिहान ९ बजे पोखरेल निवास पुगेका थिए। भेटको सुरुवातमै महासचिव पोखरेलले विप्लवको आत्मनिर्भर कृषि अभ्यासको खुलेर प्रशंसा गरे। एमालेका अन्तर्राष्ट्रिय विभाग सदस्य गोपाल खनालका अनुसार पोखरेलले विप्लवको खेती प्रणालीले देशभर सकारात्मक सन्देश दिएको बताए। “कृषिलाई व्यवसायसँग जोड्दै उत्पादन र नाफाबीच सन्तुलन कायम गर्न सकियो भने अझ प्रभावकारी हुन सक्छ,” पोखरेलले भनेको खनालले बताए।
विप्लवले पनि पोखरेललाई “दोस्रो पुस्ताका वैचारिक नेता र स्पष्ट वक्ता” भन्दै सम्मान प्रकट गरेका थिए। भेटमा गोपाल खनालसहित नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी पनि सहभागी थिए। भेटको समन्वय यी दुई नेताले मिलाएका थिए।
भेटमा कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, आपसी सहकार्य र भावी ध्रुवीकरणका सम्भावनाहरूबारे समेत गहन छलफल भएको जनाइएको छ। यद्यपि केसीले विस्तृत विवरण सार्वजनिक नगरे पनि बैठक स्रोतका अनुसार प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच अघिल्लो समय भएको एकता प्रयास र त्यसको अवरुद्ध अवस्थाबारे समेत स्पष्ट कुराकानी भएको थियो।
विप्लवले शंकर पोखरेलसँगको कुराकानीमा प्रचण्डले सुरुमा एकताको प्रतिबद्धता देखाए पनि पछि गम्भीरता नदेखाएको गुनासो पोखेका थिए। “सुरुमा मलाई महासचिव बनाउने कुरा समेत थियो, तर अहिले उहाँको व्यवहार हेर्दा एकतामा उहाँको इच्छाशक्ति छैन जस्तो लाग्छ,” विप्लवको भनाइ स्रोतले उल्लेख गरेको छ।
पोखरेलले पनि प्रचण्डको बोली र व्यवहारबीच अन्तर रहेको अनुभव सुनाउँदै समाजवादी मोर्चा प्रचण्ड र माधव नेपालले आफ्नै स्वार्थ अनुसार सञ्चालन गरेको आरोप लगाए। “सरकारमा पुगेपछि मोर्चाको उद्देश्य नै बिर्सियो,” पोखरेलको भनाइ थियो। यसमा विप्लवले सहमति जनाउँदै, मोर्चा अहिले निष्क्रिय भएको र त्यसबाट केही आशा नरहेको प्रतिक्रिया दिएका थिए।
भेटका क्रममा विप्लवले पोखरेलको सैद्धान्तिक दृढता र वैचारिक स्पष्टतालाई कम्युनिस्ट शक्तिहरूको एकता र ध्रुवीकरणमा उपयोग गर्न सकिने सुझाब दिएका थिए। साथै, ओली नेतृत्वको अघिल्लो सरकारले विप्लव समूहसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नहुँदा अझै पनि उनका कतिपय कार्यकर्ता जेलमै रहेको भन्दै महासचिव पोखरेलको ध्यानाकर्षण गराएका थिए।
पोखरेलले यस्ता छलफल र आपसी संवादलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए। भेटपछि विप्लव अर्को बैठकका लागि छुट्टिएका थिए।
सोही दिन विप्लवले नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। यसले कम्युनिस्ट शक्तिहरूबीच पुनः संवाद र ध्रुवीकरणको प्रयास तीव्र भइरहेको संकेत दिएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया