काठमाडाैं । रुकुम पश्चिमको ठूली भेरी नदीमा टिपरसहित खसेका तीनै जनाको शव फेला परेको छ। घटनापछि हराइरहेका डोजर चालक, डोजर सहचालक र टिपर चालकको शव नदी बगाएर सुर्खेतसम्म पुगेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
प्रहरीका अनुसार, आइतबार बेलुकी रुकुम पश्चिम सानिभेरी गाउँपालिका–३ का ३३ वर्षीय डोजर चालक धनविर बराइलीको शव फेला परेको हो। बराइलीको सनाखत परिवारले घटनास्थलमा पुगेर राति अबेर मात्र गरेका थिए। उनको शव सोमबार बिहान पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ।
यसअघि, शुक्रबार रुकुम पूर्व सिस्ने गाउँपालिका–८ स्यालापाखाका २० वर्षीय डोजर सहचालक हरि विकको शव र बिहीबार दाङका ३५ वर्षीय टिपर चालक मनिराम चौधरीको शव फेला परेको थियो।
तीनै शव सुर्खेतको भेरीगंगा नगरपालिका–२ स्थित भेरी नदीको किनारमा एकपछि अर्को गर्दै फेला परेका हुन्। जिल्ला प्रहरी प्रमुख एसपी प्रमेश बिष्टका अनुसार, शवहरू घटनास्थलभन्दा झन्डै ६० किलोमिटर तल नदीले बगाएर ल्याएको अवस्थामा भेटिएको हो।
घटना साउन ६ गते बेलुकी पौने ८ बजेतिर भएको थियो। रा १ क १५०१ नम्बरको टिपर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ पिपलचौरबाट डोल्पा जाँदै गर्दा ठूली भेरी नदीमा खसेको थियो। टिपर जाजरकोट डोल्पा भेरी कोरिडोर सडक अन्तर्गत नलगाड नगरपालिका–११ चिसापानी हुँदै छेपारेतर्फ गइरहेको थियो।
टिपरको अगाडिको इञ्जिन भने बुधबार खसेको स्थानभन्दा करिब ५ सय मिटर तल फेला परेको थियो।
सवारीसहित नदीमा खसेका तीनै जनाको शव फेला परेसँगै घटनाको प्रारम्भिक अनुसन्धान सकिएको प्रहरीले जनाएको छ। शवहरू पोष्टमार्टमपछि सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया