काठमाडौं । एलन मस्कको न्युरोटेक्नोलोजी कम्पनी न्युरालिंकले जन्मजात दृष्टिविहीन व्यक्तिहरूलाई देख्न सक्ने बनाउने महत्त्वाकांक्षी प्रविधिमा काम गरिरहेको खुलासा भएको छ।
कम्पनीले ‘ब्लाइन्डसाइट’ नामक उपकरणमार्फत दृष्टिविहीन व्यक्तिहरूको मस्तिष्कमा प्रत्यक्ष रूपमा दृश्य जानकारी पुर्याउने योजना बनाएको छ। यो प्रविधि हाल अमेरिकी खाद्य तथा औषधि प्रशासन (FDA) बाट ‘ब्रेकथ्रु डिभाइस’ को मान्यता प्राप्त गरिसकेको छ।
एलन मस्कले विन्स्कन्सिनमा आयोजित एक कार्यक्रममा बोल्दै ब्लाइन्डसाइटको मानव परीक्षण २०२५ को अन्त्यतिर सुरू हुने जानकारी दिएका छन्। उनका अनुसार, यस प्रविधिले आँखा र अप्टिक स्नायुहरू क्षतिग्रस्त भएका अवस्थामा पनि प्रत्यक्ष रूपमा मस्तिष्कको भिजुअल कोर्टेक्समा सूचना पठाउन सक्नेछ।
ब्लाइन्डसाइट उपकरणमा हजारौं माइक्रो-इलेक्ट्रोडहरू भएको चिप मस्तिष्कमा प्रत्यारोपण गरिन्छ। यो चिपले बाहिरी क्यामेराबाट प्राप्त दृश्य जानकारीलाई डिजिटल संकेत (न्यूरल स्टिमुलेसन) मा अनुवाद गरी मस्तिष्कको दृश्य केन्द्र (visual cortex) मा पठाउनेछ। यसरी दृष्टिविहीन व्यक्तिले केही हदसम्म दृश्य अनुभूति गर्न सक्ने अपेक्षा गरिएको छ।
मस्कका अनुसार सुरुमा उपकरणले ‘प्रारम्भिक निन्टेन्डो गेम’ जस्तै कम रिजोलुसनको दृश्य प्रदान गर्नेछ। तर मस्तिष्कको दृश्य भाग (visual cortex) पूर्णरूपमा क्रियाशील भएमा जन्मैदेखि नदेख्ने व्यक्तिहरूले पनि देख्न सक्नेछन्।
न्युरालिंकले यसअघि सार्वजनिक गरेको ‘टेलेप्याथी’ नामक ब्रेन–कम्प्युटर इन्टरफेस (BCI) इम्प्लान्टको मानव परीक्षणमा पनि सफल भएको थियो। काँधभन्दा तल पक्षघात भएका नोल्यान्ड अर्बाग नामका व्यक्तिले मस्तिष्कको संकेतमार्फत कम्प्युटर कर्सर चलाउने, भिडियो गेम खेल्ने र इन्टरनेट प्रयोग गर्न सक्ने क्षमता विकास गरेका थिए।
यस्तै, न्युरालिंकले पार्किन्सन रोगीहरूका लागि ‘डिप ब्रेन स्टिमुलेसन (DBS)’ उपकरण विकास गरेर शरीरको अनियन्त्रित हल्लाइ कम गर्न पनि सफलता हासिल गरिसकेको छ।
यद्यपि, ब्लाइन्डसाइटको सफलताप्रति केही विशेषज्ञहरूले गहिरो शंका व्यक्त गरेका छन्। वाशिङ्टन विश्वविद्यालयकी प्राध्यापक डा. आयोन फाइनका अनुसार मस्तिष्कमा छविहरू सिर्जना गर्ने प्रक्रिया अत्यन्त जटिल छ।
‘हामी अझै दृष्टिको सही न्यूरल कोड पत्ता लगाउन सकेका छैनौं,’ उनले भनिन्, ‘यस्तो प्रविधिबाट मानिसले पुनः देख्न सक्छन् भन्ने कुराले झुटा आशा जगाउन सक्छ।’
यद्यपि, एलन मस्कले आफ्नो टीमले प्रविधिमा अभूतपूर्व उन्नति गरिरहेको दाबी गर्दै यो परियोजना मानवता हितमा क्रान्तिकारी हुने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया