काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको टिप्पणीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले तीव्र प्रतिवाद गरेका छन्।
विश्वकर्माले रवि लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियानलाई ‘अदालतको मानहानि’ र हस्ताक्षरकर्ताहरूको ‘गल्ती’को संज्ञा दिएका थिए। त्यसको प्रतिवाद गर्दै बुर्लाकोटीले सोमबार पत्रकारहरूसँग भने, “रवि लामिछानेलाई मात्रै मुद्दा लगाएर पुग्दैन भनेर हस्ताक्षर गर्ने सबैलाई मुद्दा लगाउनुहुन्छ? रविको पक्षमा उभिएका सबैलाई खेद्ने काम गर्नुहुन्छ?”
बुर्लाकोटीले उक्त अभियानलाई नागरिकको स्वतःस्फूर्त अभिव्यक्ति भन्दै त्यसलाई रोक्न खोज्नु अलोकतान्त्रिक हुने बताए। उनले अभियानमाथि सरकार र सत्ता गठबन्धनले पूर्वाग्रही दृष्टिकोण अपनाएको आरोप लगाए।
रास्वपाले चलाइरहेको हस्ताक्षर अभियान अन्तर्गत हालसम्म २८ लाखभन्दा बढी हस्ताक्षर संकलन भइसकेको जानकारी दिँदै उनले ५० लाखको लक्ष्य रहेको बताए।
उनको भनाइमा, “यो अभियानले आम नागरिकमा चेतना उजागर गरेको छ र सरकारलाई प्रतिशोधपूर्ण व्यवहार नगर्न सचेत गराएको छ।”
अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजिएको आरोपको खण्डन गर्दै उनले भने, “यो कुनै फैसला भइसकेको मुद्दा होइन, विचाराधीन विषय हो। फैसला भइसकेपछि यस्तो कदम अलिक फरक हुन सक्थ्यो। अहिले जनताले आफ्नो मत सार्वजनिक गर्दैछन्।”
साथै, उनले सरकारलाई रवि लामिछानेविरुद्ध मुद्दा तयार पार्ने क्रममा ‘बदनियतपूर्ण रवैया’ अपनाएको आरोप लगाए। “हजुरबुबाको पालादेखिको पुस्तैनी जग्गामा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको छ,” भन्दै उनले रविलाई संगठित अपराधसँग जोड्नु ‘अवाञ्छित’ भएको बताए।
यसअघि आइतबार कांग्रेस नेता मीन विश्वकर्माले हस्ताक्षर गर्नेहरूले ‘इतिहासकै ठूलो गल्ती’ गरेको दाबी गर्दै त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। उनले अभियानमा बालबालिकालाई प्रयोग गरिएको भन्दै त्यसलाई ‘पाप’ को संज्ञा दिएका थिए।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार












प्रतिक्रिया